सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

सङ्क्रमण र दुर्व्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौं स्वास्थ्यकर्मी सङ्क्रमित छन् ।

ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् ।

कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्किएका छन् ।

उनी आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयौं फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचारसम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो ।

उनले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताए । स्वास्थ्य कार्यालय प्रमुख बस्नेतले कोरोना सङ्क्रमितलाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।

आफूलाई कसैले घृणा नगरे पनि समाजमा बौद्धिक वर्गले नै सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको अनुभव सुनाए । यस्तै चितवनस्थित बकुलर अस्पताल रत्ननगरका प्रमुख डा. विश्वबन्धु बगालेलाई पनि कोरोना सङ्क्रमित भइसकेपछि कोरोना सङ्क्रमित चिकित्सकको घर भनेर ब्यानर टाँसिएको थियो ।

कोसी अस्पताल अर्थोपेडिक वार्डमा कार्यरत एक नर्सको व्यथा अर्कै छ । (मञ्जु शर्मा नाम परिवर्तन)ले १० दिनअघि मात्र कोरोनालाई जितेर ‘डिस्चार्ज’ भएका हुन् । साउन २१ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका केही स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनले कोरोना परीक्षण गरेका थिए ।

उनलाई पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । नर्स मञ्जुलाई कुनै लक्षण थिएनन् तर होम क्वारेन्टाइनको प्रोटोकल नआउँदा अस्पतालमै बस्नुपरेको उनको गुनासो छ । स्वास्थ्यकर्मीले नै सङ्क्रमित स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ भन्दै उनले समाजमा झन् ठूलो खाडल रहेको बताए ।

#गोरखापत्र

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार ०९:१२