बाँके । गएको साउन ११ गते यातायात कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय पूर्णरुपमा सील गरियो । झण्डै दुई साता कार्यालय बन्द रह्यो । सोही दिन आन्तरिक राजश्व कार्यालयमा कार्यरत एक जना कर अधिकृतमा पनि संक्रमण देखिएपछि राजस्व कार्यालय पनि सील भयो ।
कर अधिकृतमा कोरोना संक्रमण देखिएको केही दिनमै अन्य कर्मचारीमा पनि संक्रमण देखिएपछि आन्तरिक राजश्व कार्यालयलाई आइसोलेशनमा परिणत गरियो । पहिलो पटक यातायात कार्यालयमा प्रवेश गरेको कोरोना भाइरसले आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, जिल्ला अदालत लगायतका सरकारी कार्यालय निशानामा परे ।
कोरोना भाइरसको संक्रमण सरकारी कार्यालय हुँदै समुदायस्तरमा फैलिने क्रम झन् तीव्र बन्दै गयो । भेरी अस्पतालका डाक्टरदेखि वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत तीन दर्जन सुरक्षाकर्मी सुरक्षाकर्मी कोरोना संक्रमण देखिएसँगै ‘आइसोलेटेड’ भएर बस्नुपर्यो । वडा प्रहरी कार्यालय १४ दिन आइसोलेसन सेन्टर बन्यो ।
सरकारी कार्यालय एकपछि अर्को गर्दै आइसोलेसन बनिरहेका बेला जिल्लाका भिआइपी र पहुँचवाला व्यक्ति कमैले मात्रै कोरोना परिक्षण गराएका छन् । उनीहरुलाई परिक्षणपछि कोरोना संक्रमण देखिएमा सामाजिकरुपमा ‘लाज’ हुने डर छ । बाँकेका प्रमूख जिल्ला अधिकारीदेखि प्रहरी प्रमूखले अहिलेसम्म कोरोना परिक्षण गरेको देखिँदैन ।
यद्यपी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षकदेखि जवानसम्मका प्रहरी कर्मचारीमा कोरोना देखिइसकेको छ । तर, प्रहरी कार्यालयले संवेदनशीलता अपनाउँदै प्रहरी कार्यालयमा बाह्य व्यक्तिको आउजाउ रोक्न सकेको छैन भने ठूलो संख्यामा प्रहरी कर्मचारी संक्रमित हुँदा प्रहरी कार्यालय सील गरेको छैन ।
ठूलो संख्यामा प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेपालगन्जबासी थप त्रसित बनेका छन् । नेपालगन्जबासीलाई प्रहरीबाटै कोरोना संक्रमण फैलिने त्रास कायमै छ । लक्षण नदेखिएका संक्रमित प्रहरीहरु नै ड्युटीमा खटिनेको गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो । जसका कारण कोरोना संक्रमण थप फैलिने खतरा बनेको छ ।
स्रोतका अनुसार जिल्लाको शान्ति सुरक्षा, क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन र नियमित गस्तीका लागि चाहिने जनशक्ति नहुँदा संक्रमित भएका आशंकित कर्मचारीहरु पनि चेकजाँच नगरेरै ड्युटीमा खटिनुपर्ने अवस्था छ । कोरोना देखिएका कार्यालय, क्षेत्र र संस्थाहरुमा सील भइरहँदा जिल्ला प्रहरी कार्यालय सील गरिएको छैन ।
नेपालगन्ज–१, धम्बोझीका सागर थापा भन्छन्, ‘पहुँचका भरमा जिल्ला प्रहरी कार्यालय सील नहुँदा प्रहरीबाटै कोरोना संक्रमण फैलिने खतरा छ । यसको जिम्मेवारी कसले लिने ? अहिलेसम्म एसपी र डिएसपीको कोरोना जाँच भएको भन्ने जानकारी आएको छैन । यसले प्रहरीबबाटै संक्रमणको जोखिम पो देखियो त !’
यहाँ चिकित्सक, सुरक्षाकर्मी, जनप्रतिनिधि, उद्योगीदेखि पार्टीका जिल्ला तहका शीर्षनेतामा समेत कोरोना देखिएको छ । अहिले कोरोनाले घरानिया वर्गमा आक्रमण गरिरहेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरि बस्नेत लगायतका दर्जनबढी सुरक्षाकर्मीमा यसअघि देखिएको कोरोनाले अहिले जिल्ला प्रहरीलाई नै हटस्पट बनाएको छ ।
प्रत्येक दिनजसो कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको छ । तर, बाँकेमा ‘भिआइपी’ वर्गको स्वास्थ्य परिक्षण हुन सकेको छैन । बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङदेखि प्रदेश तथा संघीय सांसद, स्थानीय तहका जनप्रतिनिधी र उच्च सरकारी अधिकारीले अहिलेसम्म पीसीआर जाँच गरेका छैनन् ।
प्रदेश सांसद कृष्ण केसी ‘नमूना’ बाहेक अन्य सांसदहरूले पीसीआर जाँच गर्न चासो देखाएका छैनन् । कोरोना संक्रमणको अत्याधिक चाप देखिएका बाँकेका आठवटै स्थानीय तहका वडादेखि पालिकास्तरका जनप्रतिनिधी र पालिका प्रमुखसमेत स्वास्थ्य परिक्षण गरेका छैनन् । बाँकेमा जिल्ला तहका ‘भिआइपी’को स्वास्थ्य परिक्षण हुन नसक्दा कोरोनाको जोखिम बढ्दो छ ।
सबैभन्दा बढी कोरोना संक्रमण देखिएको नेपालगन्ज उपमहानगरपालिकामा समेत पछिल्लो पटक मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले समेत पीसीआर परिक्षणमा चासो देखाएका छैनन् । कोहलपुर नगरपालिका लगायत बाँकेका ६ वटै गाउँपालिकाका जनप्रतिनिधिदेखि कर्मचारीसम्म कोरोना परिक्षण गर्न आनाकानी गरिरहेका छन् ।
बाँकेमा प्रजिअ कुरूम्वाङ, प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर राना, सेनाका प्रमुख कर्नेल नहकुल थापा, सशसस्त्र प्रहरी प्रमुखमात्रै नभई उनीहरू कार्यरत सरकारी कार्यालयमा समेत कोरोना परिक्षण जरूरी देखिएको छ । तर, नेपाली सेना र वडा प्रहरी कार्यालय नेपालगन्ज बाहेक अन्यत्रका कर्मचारीमा स्वास्थ्य परिक्षण छैन ।
अख्तियार दुरूपयोग अनुसन्धान आययोग नेपालगन्जका एक कर्मचारी कोरोना संक्रमित भएका थिए । तर, यहाँका प्रमुख गणेश गैरै लगायतका उच्च पदाधिकारीले अहिलेपनि कोरोना जाँच गराएका छैनन् । यसरी उच्च वर्ग अर्थात जिल्ला तहका भिआइपीको लापरवाहीका कारण पनि बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको नागरिकहरु बताउँछन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाइनमा देखिने बाँकेका प्रजिअ, अस्पताल प्रमुख र प्रहरी प्रमुखले मात्रै नभई प्रदेश सांसद नमूनाबाहेक अधिकांश जनप्रतिनिधीले कोरोना जाँच नगराएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । भेरी अस्पतालमा चिकित्सकसहित करिब १० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।
अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठसमेत कोरोना संक्रमित बनिसकेका छन् । तर, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायतका पदाधिकारी, अस्पताल प्रमुख, नर्सिङ्ग प्रमुख लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीको समेत अझै कोरोना परिक्षण हुन सकेको अस्पतालले जनाएको छ ।
बाँकेमा एक दर्जनबढी सरकारी कार्यालयका तल्लो तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । तर, तीनै कार्यालयका अधिकारीहरूले आफनो स्वास्थ्य परिक्ष्क्षणमा चासो देखाएका छैनन् । अदालतमा कोरोना संक्रमण देखिँदा त्यहाँका भिआइपीले स्वास्थ्य परिक्षण गराएको जानकारी हालसम्म छैन ।
स्वास्थ्य परिक्षणपछि कोरोना संक्रमण देखिए लाज हुने, १४ दिन आइसोलेसनमा बस्नुपर्ने, घर परिवारमा तनाव हुने लगायतका कारण महशुस गर्दै यहाँका भिआइपीले कोरोना जाँचमा लापरवाही गरिरहेका छन् । यतिमात्र होइन बाँकेको नेपालगन्ज र कोहलपुरमा रहेका उद्योग बाणिज्य संघका कुनैपनि पदाधिकारीले कोरोना परिक्ष्णा गरेका छैनन् ।
बाँकेमा कोरोना संक्रमण बढेसँगै यहाँका झण्डै दर्जन बढी सांसदहरूमध्ये एक दुई जनाबाहेक अरूको जिल्लामा अनुहारसमेत नागरिकले देख्न पाएका छैनन् । प्रदेश सांसद ‘नमूना’ रातदिन जनसेवामा खटिँदा संक्रमित भएर घरमा आराम गरिरहेकी छन् । अन्य सांसदहरू को कहाँ कुन अवस्थामा छन् कसैलाई पत्तोसमेत छैन ।
आम नागरिकलाई मात्र होइन ती सांसद आबद्ध राजनीतिक दलका जिल्ला तहको नेतृत्वलाई नै थाहा छैन । बाँकेमा नेकपा, काँग्रेस, राप्रपा लगायतका दलका जिल्लास्थित पार्टी प्रमुखदेखि जिल्लाका पदाधिकारी र प्रदेश कमिटी पदाधिकारले समेत कोरोना कहरमा स्वास्थ्य परिक्षण गराउन चासो देखाएका छैनन् । यसले पनि कोरोना संक्रमणको दर बढिरहेको छ ।
सरकारी कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीयदेखि प्रदेश र संघीय तहका जनप्रतिनिधि, सुरक्षकर्मी, नागरिक समाजका अगुवा लगायतका जिल्ला तहका भिआइपीको तत्काल स्वास्थ्य परिक्षण नगरिए कोरोना संक्रमणको दर भयावह हुने भन्दै नेपालगन्जबासी त्रसित बनेका छन् ।
यता बाँकेका प्रजिअ कुरूम्वाङ फन्टलाइनमा बसेर काम गर्ने व्यक्तिको अहिले नै कारोना जाँच गर्दा संक्रमण देखिए काममा समस्या हुने बताउँछन् । उनी भन्छन्, ‘कोरोना संक्रमणको लक्षण देखिएपछि भिआइपीको मात्रै नभई भिभिआइपीको पनि स्वास्थ्य परिक्षण गर्नुपर्छ । तर, अहिले उक्त वर्गमा लक्षण नदेखिएका कारण आमनागरिकलाई नै पहिलो प्राथमिकतामा राखिएको छ ।’
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताल आफूले एक साताअघि कोरोना परिक्षण गराएको बताउँछन् । तर, अस्पतालका अन्य पदाधिकारी र चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना परिक्षणमा समितिले समेत चासो देखाएको देखिँदैन । यसबारे समितिको समेत ध्यान जान पर्ने अस्पतालका स्वास्थ्यकर्मी नै बताउँछन् ।
सरकारी अस्पतालका साथै बाँकेमा रहेका नीजि अस्पताल र मेडिकल क्लिनीकमा कार्यरत स्वास्थ्यकर्मीको पनि तत्काल स्वास्थ्य परिक्षण आवश्यक देखिएको स्वास्थ्यकर्मी पदम खत्रीले बताए । सरकारले नागरिकको सेवामा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीको तत्काल कोरोना परिक्षण गर्न निर्देशन भने दिइसकेको छ ।
तर, बाँकेमा सरकारको उक्त निर्देशन पालना हुन सकेको देखिँदैन । शुरूवाती चरणमा नेपालगन्जमा केही जनप्रतिनिधिहरुको कोरोना परिक्षण गरिएको थियो । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरिएपनि पछिल्लो समयमा चोकजाँच हुन सकेको छैन ।
प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमितहरु भेटिएको वडा नं.८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं.११ का वडाध्यक्ष उज्वलसिंह राठौर, वडा नं.१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी र वडा नं.१३ का वडाध्यक्ष विरेन्द्र शाहको स्वाब संकलन गरिएको थियो ।
त्यस यता कुनै पनि जनप्रतिनिधिको स्वासथ्य परिक्षण हुन सकेको देखिँदैन । अहिले पनि कोरोना संक्रमण फैलिने क्रम रोकिएको छैन । स्थानीय प्रशासनले शुक्रबार र शनिबार किस्ताबन्दीमै भए पनि निषेधाज्ञा जारी गर्दासमेत कोरोना संक्रमणको दर अझ वृद्धि भयो । गत चैत्रदेखि बाँकेमा देखिएको कोरोना संक्रमण यतिबेला बाँकेमा नियन्त्रण बाहिर गइसकेको छ ।
सीमा नाघिसकेको छ । यसको रोकथाम र नियन्त्रणका लागि सरकराले करोडौं खर्च गरिसकेको छ । सयौं जनशक्ति खटाइएको छ । भारतसँग जोडिएका जिल्लामा सीमानाका बन्द गरेको छ । बेलाबखतमा निषेधाज्ञा र लकडाउन गरेको छ । तर, कोरोना नियन्त्रणमा आउन सकेको छैन । बाँकेको हकमा कोरोना अहिले नियन्त्रण बाहिर गइसकेको छ ।
बाँकेमा आजभोली दैनिक ५० बढीको दरमा कोरोना संक्रमित भेटिन थालेका छन् । यो तथ्याकंले पनि कोरोना समुदायभन्दा बाहिर गैसकेको र अब जोकोहीलाई कोरोना हुन सक्ने चिकित्सकहरू बताउँछन् । बाँकेमा अहिले कोरोना सर्वसाधारण नागरिकमा मात्रै नभई उच्च वर्ग र सुरक्षित भनिएका ठाउँमा अत्याधिक देखिन थालेको छ ।
सत्यपाटी ।