काठमाडौं । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ सम्म लम्बिएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ ।
अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ ।
यस्तै सवारी साधनको हकमा जोर बिजोर प्रणाली अन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताउनुभयो ।
उहाँले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारे पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
यसैगरी, डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।
सत्यपाटी ।