सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

असोज १ देखि हिमाली तथा पहाडी जिल्लामा आन्तरिक उडान खुलाउने तयारी

अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान दिने अपेक्षा

काठमाडौं । सरकारले असोज १ गतेदेखि हिमाली तथा पहाडी जिल्लामा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । कोरोना संक्रमण कम देखिएका केही जिल्लाबाट उडान शुरू गर्नेगरी तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

यसअघि भदौ १६ गतेदेखि नै आन्तरिक उडान खोल्ने भनिए पनि काठमाडौं लगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढेपछि सरकारले अर्को निर्णय नहुन्जेल आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्री भट्टराईले ५ महीनादेखि ठप्प पर्यटन क्षेत्रलाई कोरोना महामारीकै बीचमा सुरक्षित ढंगले सुचारु गर्नेबारे शनिवार पर्यटन क्षेत्रका सरोकारवालाहरूको छलफलमा असोज १ देखि सीमित जिल्लामा उडान शुरू गर्ने तयारी भएको बताएका हुन् ।

अन्तरराष्ट्रिय उडानको केही दिनको अभ्यास हेरेर उडान संख्या बढाउने तयारी पनि गरिएको उनको भनाइ छ । सरकारले अन्तरराष्ट्रिय उडान भदौ १६ देखि नियन्त्रित रूपमा खोलेको छ ।

पर्यटन क्षेत्रलाई सुरक्षित तरीकाले कसरी सुचारु गर्न सकिन्छ भन्नेबारे मन्त्रालयले पर्यटन विभाग र पर्यटन बोर्डको टोली बनाई अन्तरराष्ट्रिय अभ्यासहरूको अध्ययन गरिरहेको मन्त्री भट्टराईले बताए । ‘सो अध्ययनका आधारमा छिट्टै केही नयाँ निर्णय हुन सक्छ,’ उनले भने ।

स्वास्थ्य र सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै पर्यटन क्षेत्र  क्रमैसँग खोल्ने पक्षमा आफू रहेको भन्दै भट्टराईले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको र औपचारिक प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको बताए ।

अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विमानस्थलमै पीसीआर टेष्ट गरी छिटो रिपोर्ट आउने प्रक्रियाको बारेमा छलफल भएको समेत मन्त्री भट्टराईको भनाइ छ । यसका लागि पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको जानकारी उनले दिए ।

कोरोनाको प्रभाव कम हुनासाथ आन्तरिक पर्यटन प्रवर्द्धन गर्न देशदर्शन कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइने उनले बताए । यसका माध्यमबाट लाखौं आन्तरिक पर्यटकको चहलपहल गराउन सकिने र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान दिने अपेक्षा उनले गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सबै जिल्लामा उडान हुनेगरी आन्तरिक उडान खोल्न सहज नभएको बताए । हवाई उडान सुचारु गर्ने विषयमा आफूहरू पहिलेदेखि नै तयारी अवस्थामा रहेको भए पनि विभिन्न जिल्ला, नगरहरूमा निषेधाज्ञा जारी भएकाले आन्तरिक उडान खोल्न समस्या भएको उनको भनाइ छ ।

वायुसेवा सञ्चालकहरूले भने हवाई यात्रा एकद्वार नीति अनुरूप हुने भएकाले आन्तरिक उडान रोक्नुको कुनै अर्थ नभएको भन्दै आन्तरिक उडान छिटो खोल्न मन्त्रालय र प्राधिकरणलाई दबाब दिइरहेका छन् । आर्थिक अभियानमा खबर छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार ०७:५६