दैलेख । कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक सँधै समस्यामा पर्ने गरेका छन् । विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ ।
कुनै एक स्थानमा बत्ती गएपछि सबै स्थान अन्धकार हुनाले उपभोक्ताले वर्षेनी समस्या भोग्नुपरेको छ । विद्युत् लाइन विस्तार गरिएको कतिपय स्थानमा पुराना र जीर्ण खम्बा भएकाले सामान्य हुरी आउँदा वा रुखका हाँगाले छुँदा पनि विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको प्रसारण लाइनमा रुखका साना हाँगाले खम्बामा बारम्बार क्षति पुग्ने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख टङ्कराज गिरीले जानकारी दिए ।
मर्मत गर्न पनि निकुञ्जको अनुमति लिनुपर्ने बाध्यताका कारण धेरैजसो मर्मतमा ढिलाइ हुने गरेको गिरीको गुनासो छ । तीन जिल्लाको विद्युत् समस्या समाधानका लागि दैलेखको चुप्रामा १३२ केभिए प्रसारण लाइनको विस्तार गर्ने केन्द्र सरकारको योजना भने शुरु हुन सकेको छैन ।
जग्गा खोजी गर्ने, लाइन विस्तार गर्ने लगायत कामका लागि गत वर्षदेखि शुरुआत गरिए पनि अहिलेसम्म कुनै काम हुन नसकेको हो । सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको सात वर्ष बितेको छ । विसं २०४५ मा विस्तार गरिएको विद्युत्को पुरानो संरचना र क्षमता अहिलेको मागअनुसार पर्याप्त नहुँदा नागरिकले सास्ती झेल्नुपरेको छ । रासस
सत्यपाटी ।