सूचनाको शक्ति - The Power Of Information

        

असभ्य टिप्पणीलाई लिएर डोनाल्ड ट्रम्प आलोचित, पत्रकारलाई ‘निच भनेर गाली

काठमाडौं । युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका बारे गरेको असभ्य टिप्पणीलाई लिएर यतिखेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचित भएका छन् ।

यस्तो टिप्पणीबारे खुलासा गरेको भन्दै ट्रम्प द एट्लान्टिक म्यागजिनका पत्रकारमाथि पनि खनिएका छन् । ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई ‘लुजर्स’ र ‘बुद्धु’ भनेको खबर सबैभन्दा पहिले द एट्लान्टिकका गोल्डबर्गले लेखेका थिए ।

त्यसपछि अन्य सञ्चारमाध्यमले पनि यो खबरको पुष्टि गरेका थिए । द एट्लान्टिकका अनुसार ट्रम्पले सन् २०१८ मा फ्रान्स भ्रमणमा रहेका बेला पेरिसको बाहिरी क्षेत्रमा रहेको अमेरिकी सेमेट्रीको यात्रा रद्द गरेका थिए ।

उनले सेमेट्री ‘हारेकाहरुले भरिएको’ भन्दै यात्रा रद्द गरेको म्यागेजिनको दाबी छ । पूर्व अमेरिकी सैनिकहरुको समूह र सैनिकका परिवार तथा आफन्तहरुले अहिले ट्रम्पको आलोचना गरिरहेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने ट्रम्पको यात्रा खराब मौसमका कारण रद्द भएको बताएको थियो । ट्रम्पले यो खबर झुठो भएको दाबी गर्दै पत्रकारलाई निच भनेर गाली गलौज गरेको अमेरिकी सञ्चारमाध्यममा जनाइएको छ ।

उनले यो बेकार पत्रिकाको घृणित कार्य भएको आरोप लगाएका छन् । तलब भत्ता, सुविधा बढाएर मुलुकका यी नायक सेनाको आफुले जति कदर आजसम्म कसैले नगरेको पनि ट्रम्पले दाबी गरेका छन् । (एजेन्सी)

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार १०:४७