सूचनाको शक्ति - The Power Of Information

        

पर्सा र बारामा बैंकरसहित थप २६ जनामा कोरोना पुष्टि

काठमाडौं । बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो ।

शनिबार राति प्रयोगशालामा ५ सय १० जनाको स्वाबलाई पिसिआर परिक्षण गर्दा पर्सका २४ र बाराका २ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमित हुनेमा १४ वर्षीदेखि ६४ वर्षका रहेका छन् । जसमा ५ जना महिला र २१ जना पुरूष रहेको उनले बताए । २६ जनामध्ये जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा एक जना कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्साका २४ जनामा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २२ जना संक्रमित थपिएका छन् । जसमध्ये वीरगन्जमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ भने वीरगन्ज स्थित कृषि औजार कारखानामा रहेका २ जना शस्सत्र प्रहरी संक्रमित रहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नं ४ का एक जना ५३ बर्ष पुरूष र जगरनाथपुर गाउँपालिका वडा नं ४ की १६ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतवार ०८:४७