काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) जमैका तलावाज पाँचौ खेलमा पराजित भएको छ।
जमैकालाई शनिबार राति भएको खेलमा बार्बाडोस ट्रिडेन्सले ७ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा चार विकेटको क्षतिमा १६१ रन जोड्यो।
उसका लागि जर्मिन ब्ल्याकउडले ५९ बलमा ७४ रन जोडे। आन्द्रे रसेलले २८ बलमा ५४ रनको योगदान दिए।
१६२ रनको लक्ष्य बार्बाडोसले ३ विकेटको क्षतिमा १८.२ ओभरमा पार गर्यो। उसका लागि कप्तान जासन होल्डरले ४२ बलमा ६९ रन जोडे।
उनलाई जमैकाका नेपाली स्पिनर सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारेका थिए।
सन्दीपले खेलमा होल्डरको मात्र विकेट लिन सके। उनले चार ओभरमा २६ रन दिँदा ९ बल डट फ्याँके भने १ छक्का दिए। सन्दीपले सिपिएलका नौ खेलमा अहिलेसम्म ११ विकेट लिइसकेका छन्।
सिपिएलमा बार्बाडोस यसअघि नै बाहिरिसकेको थियो भने जमैकाले अन्तिम चारमा स्थान बनाएको थियो।
अन्तिम खेलअघि सात अंक जोडेको जमैका चौथो स्थानमा सीमित हुने भएको छ।
अब जमैकाले समेमिफाइनलमा शीर्ष स्थानको अपराजित टिम ट्रिन्बागो नाइट राइडर्ससँग ८ सेप्टेम्बरमा खेल्नेछ।
अर्को सेमिफाइनल गुयाना र सेन्ट लुसियाबीच ८ सेप्टेम्बरमै हुनेछ। फाइनल १० सेप्टेम्बरमा हुनेछ।
सत्यपाटी ।