सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

गाउँमा रोजगारी नपाउँदाको पीडा, ‘आधार कार्ड देखाएर फेरि भारततिरै’

बाँके । कोरोना महामारी सुरु भएसँगै भारतमा लकडाउन भएपछि नेपाल–भारत सीमा नाकामा घर फर्किने नेपालीको भीड लाग्यो । घर फर्किँदा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर नेपाल प्रवेश गरे । नेपाल आएको लामो समयसम्म रोजगारीको विकल्प नदेखेपछि घर फर्किएका नेपालीहरु अहिले आधार कार्ड देखाएर भारततिर फर्किँदैछन् ।

‘घरमा भएको अन्नपात सकिएकोले गाउँमा बस्न सक्ने अवस्था रहेन । भारत जानुको विकल्प भएन,’ नेपाल–भारत सीमानाका जमुनाहमा भेटिएका वीरेन्द्रनगर नगरपालिका–२, खोलीगाउँका नरेन्द्र थापाले भने । उनी भारतको गुजरात जानका लागि सुर्खेतबाट नेपालगन्ज नाका आएका हुन् । गुजरातमा चौकीदारीको काम गर्ने उनी पाँच दिन लगाएर नेपाल आएका थिए ।

भारतले लकडाउन गरेपछि काम नपाएर उनी नेपाल आए । गुजरातबाट बल्लतल्ल नेपालगन्ज नाकामा आएका उनले सुर्खेत जान पनि ठूलै संघर्ष गर्न परेको थियो । स्वदेशबाट भारत जानका लागि उनले ठूलै कसरत गर्नु परेको छ । दुई दिनदेखि प्रयास जारी रहेको उनले बताए । छोरा र पत्नीलाई सँगै लैजान लागेका उनले कोरोनाभन्दा भोको पेटको चिन्ता भएको बताए ।

‘घरमा भएको अन्नपात सकियो । नेपालमा रोजगारी नभएपछि भारत जानुको विकल्प छैन,’ उनले भने । भारतमा लकडाउन भएपछि उनले नेपाल छिर्न नेपाली नागरिकताको प्रमाणपत्र देखाए । अहिले उनै थापाले भारत छिर्न भारतीय आधार कार्ड देखाए । आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि धेरै नेपाली आधार कार्ड बोकेर भारततिरै फर्किएका छन् ।

भैरवी गाउँपालिका–१ रावतकोट, दैलेखका ३२ बर्षिय चेतनबहादुर सुनार पनि आधार कार्ड बोकेर नेपालगन्ज नाका पुगेका छन् । भारतको गुजरातस्थित एक होटलमा काम गर्ने उनी पनि अन्नपात सकिएपछि भारत जान लागेको बताउँछन् । नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको उनले बताए ।

जेठमा आउँदा पनि यस्तै दुख झेलेको बताउँदै उनले कोरोना भन्दा पेट पाल्ने चिन्ता भएको बताए । ‘कोरोनाको डरले नेपालमा बस्ने हो भने एक छाक भात खान समस्या हुन थाल्यो । भोकै बस्नुभन्दा रोगसँग लड्न उत्तम लाग्यो,’ उनले भने । बैजनाथ गाउँपालिका–३, सुतैह्याका विकास बस्नेत पनि भारत जानका लागि नाका धाइरहेका छन् ।

चार दिनदेखि धाए पनि अहिलेसम्म जान नपाएको उनले बताए । विरामी हजुरआमा भेट्न नेपाल आएका उनी मालिकले काममा बोलाएकोले भारत फर्किन लागेको बताए । ‘आफ्नो ज्यानको सरक्षा आफै गर्ने गरि भारत जान लागेको छु,’ उनले भने । भारतबाट आएकाहरु अहिले जाने बेलामा आधार कार्ड देखाएर जाने गरेका छन् ।

दैनिक सरदर तीन सय नेपाली भारत जानका लागि नेपाल–भारत सीमा नाका जमुनाह आउने गरेको इलाका प्रहरी कार्यालय, जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले बताए । उनले आधार कार्ड भएकालाई भारत जान दिएको बताए । उनले भारतबाट आउन जोरबल गरेजस्तै भारत जानका लागि पनि दवाव दिने गरेको प्रहरी नायव निरीक्षक गिरीले बताए ।

भारत जानेहरुले जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रशासकको सिफारिस ल्याउने गरेको गिरीले बताए । जनप्रतिनिधि र राजनीतिक दलका नेता नाकामा पुगेर दवाव दिने गरेको उनको भनाई छ । ‘भारतबाट आएकाहरु अहिले भारत जान पाउँ भन्दै आइरहेका छन्,’ उनले भने, ‘पहिले आउन दिनुस् भन्नेहरु अहिले जान दिनुस् भन्छन्, हामीले रोक्न सक्ने अवस्था छैन ।’

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार १३:१५