सूचनाको शक्ति - The Power Of Information

        

तरङ्गित राजनीति

अर्थमन्त्री खतिवडाले दिए राजीनामा, नयाँ अर्थमन्त्रीमा पौडेलको पल्लाभारी

नेकपाभित्र महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुनलाई सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ । तर, पौडेलको सम्भावना बलियो देखिएको छ ।

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।

संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् । गत फागुनमै राष्ट्रिय सभाको दुईबर्षे कार्यकाल पूरा भए पनि ६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनेको स्रोतले बताएको छ ।

दुईबर्षे कार्यकाल पूरा भए पनि प्रधानमन्त्रीका विश्वास पात्र भएकै कारण संवैधानिक व्यवस्था अनुसार ओलीले खतिवडालाई पुनः ६ महिनाका लागि अर्थमन्त्री नियुक्त गरेका थिए । गएको फागुनबाट नै राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । रिक्त रहेको सो पदमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भइरहेको छ ।

नेकपाको आन्तरिक शक्ति समीकरणमा हारजितको रडाको मच्चिएपछि यतिलामो सयमसम्म समयसम्म सो पद रिक्त रहेका थियो । राष्ट्रिय सभाको दुईबर्षे कार्यकाल पूरा भइसकेपछि युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपाभित्र अबको अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रीको रुपमा पनि निरन्तरता दिन चाहेका थिए । तर पार्टी सचिवालयमा उपाध्यक्ष गौतमलाई सांसद बनाउने पक्षमा माहौल भएपछि खतिवडाको बर्हिगमनसँगै नयाँ अर्थमन्त्रीका लागि भित्रि प्रतिस्पर्धा सुरु भइसकेको छ ।

अर्थमन्त्री खतिवडाको थपिएको ६ महिने कार्यकाल पनि भोली शनिबार सकिँदैछ । राष्ट्रिय सभामा उनको दुई वर्षे कार्यकाल पुरा भएपछि बिना सांसद मन्त्री हुन पाउने व्यवस्थाअनुसार थपिएको कार्यकाल शनिबार पुरा हुन लागेको हो । संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढि मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाअनुसार उनी सरकारबाट हटेका हुन् ।

प्रधानमन्त्री ओली अन्तिमसम्म पनि खतिवडाको निरन्तरताबारे नेताहरुलाई कन्भिन्स गर्ने पक्षमा भएको हुँदा अहिलेसम्म उनको विकल्पको बारेमा धेरै बिचार गरिनसकेको बालुवाटार स्रोतको दाबी छ । अहिलेसम्म नयाँ अर्थमन्त्रीका बारेमा प्रधानमन्त्रीले त्यति गम्भीर किसिमबाट बिचार गरी नसकेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए ।

उनले भने, ‘अहिलेसम्म बिचार गरिसक्नुभएको छैन, आजबाट बल्ल डा.खतिवडाको निरन्तरता नहुने प्रष्ट भयो । अब अलि सघनरुपमा छलफल होला । सम्भावनाको कुरा गर्दा यसअघि अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेकै व्यक्तिहरुकै अलि बढि पल्लाभारी हुने देखिन्छ ।’ उनका अनुसार यसअघि अर्थमन्त्री बनिसकेका पार्टी महासचिव विष्णु पौडेलको सम्भावना देखिन्छ ।

प्रधानमन्त्रीले पनि आफु निकटकै व्यक्तिलाई अर्थमन्त्री दिन चाहेको तर, स्पष्ट चित्र बाहिर आइ नसकेको स्रोत बताउँछ । स्रोतका अनुसार महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएर आफ्ना विश्वास पात्रसमेत रहेका खतिवडालाई सक्रिय बनाउन प्रधानमन्त्री ओलीले चाहेका छन् । यसले पनि पौडेलको सम्भावना बलियो देखिएको छ ।

तर, नेकपाभित्र स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुनलाई पनि सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ । तत्काल प्रधानमन्त्रीले अर्थमन्त्रीको जिम्मेवारी कसैलाई पनि नदिएर केही समय आफै मातहत राख्ने सम्भावना रहेको भन्दै एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीको मूड तत्काल आफै मातहत राखेर त्यसपछि निर्णय गर्ने पनि बुझिएको छ ।’

ओलीसँग सम्पर्कमा रहेका एक नेताका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्दा जिम्मेवारी हेरफेर गरेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने सम्भावना पनि रहेको छ । त्यसो त उपाध्यक्ष गौतमले पनि उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको नेतृत्व गर्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहि दिनअघि बताएका थिए ।

तर प्रधानमन्त्रीको सचिवालयमा रहेका नेताहरू भने त्यस्तो सम्भावना नरहेको बताउँछन् । ‘कोरोना संकटका कारण अर्थतन्त्र तहसनहस छ । यो समस्या अझै कुन हदसम्म पुग्ने हो अनुमानसम्म गर्नसक्ने स्थिति छैन,’ ओलीनिकट स्रोतले भन्यो, ‘यो चुनौतिपूर्ण अवस्थालाई समाना गर्ने, सुझबुझपूर्ण निर्णय लिने र कार्यान्वयन गर्न सक्ने नेता नै अर्थमन्त्री बन्नेछन् ।’

कोरोना महामारीका कारण अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । यो कुन तहको संकटसम्म पुग्ने हो भन्ने अनुमानसम्म गर्न नसक्ने अवस्था भएको हुँदा अर्थ मन्त्रालयको जिम्मेवारी अनुभवी, विश्वासिलो र क्षमतावान नेतालाई नै दिने पक्षमा प्रधानमन्त्री रहेको उनीनिकट एक नेताको भनाइ छ ।

जानकारहरुका अनुसार अर्थमन्त्रीको दौडमा महासचिव पौडेल नै सबैभन्दा अगाडि छन् । त्यसो त प्रधानमन्त्री ओलीसँग निकट रहेका पौडेलको रुचि अर्थमन्त्रीमै छ । ओलीनिकट एक नेताका अनुसार केहि दिनयता उनले त्यसबारे आफ्नो रुचि व्यक्त गरिसकेका छन् । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पौडेल नै अर्थमन्त्री थिए ।

भारतीय नाकाबन्दीका कारण अर्थतन्त्र निकै समस्यामा रहेका बेला उनले सो मन्त्रालय सम्हालेका थिए । महाधिवेशन वा अन्य कुनै कारणले पौडेलको सम्भावना टर्यो भने पूर्व अर्थमन्त्री पाण्डेले सो जिम्मेवारी पाउनसक्ने बालुवाटार स्रोतले जनाएको छ । पाण्डे माधव नेपाल पक्षियका नेता हुन् ।

मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्वमाओवादी र पूर्वएमालेबीच भागबण्डामा तालमेल मिलेमा उर्जामन्त्री वर्षमान पुन पनि अर्थमन्त्री बन्ने सम्भावना छ । उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । र, १८ महिना अर्थमन्त्री रहँदा पुनको कार्यकाल सफल मानिएको थियो । त्यस्तै अर्को विकल्पको रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई लिइएको छ ।

‘पुनर्गठनका बेला मन्त्रिमण्डलमा ज्ञवालीलाई अर्थ मन्त्रालय लैजाने विकल्प पनि सोचिएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यिनै व्यक्तिहरु मध्येबाट हुने हो, प्रधानमन्त्रीले अहिलेको आर्थिक संकटका बेला जोकोहीलाई ल्याएर जोखिम लिने अवस्था छैन । सबै कुरा मिलाउँदा केही अन्तिमसम्ममा निर्णय हुने भएकोले अहिले नै ठोकुवा गर्ने स्थिति छैन ।’

लामो समय नेपाल राष्ट्र बैंकको जागिरे रहेका खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, गभर्नर हुँदै अर्थमन्त्री बनेका थिए । एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले अर्थ मन्त्रालयको नेतृत्व गर्न चाहेका बेला ओलीले भने खतिवडालाई रोजेका थिए ।

विज्ञताका आधारमा अर्थमन्त्रालय पुगेका खतिवडाको कार्यसम्पादनको विपक्षीले मात्रै नभई सत्तारुढ दलकै नेताहरुले समेत आलोचना गर्ने गरेका थिए । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली भने खतिवडाको काम, उनले लागु गरेका नीति तथा कार्यक्रमबाट अझै पनि निकै प्रभावित छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १४:४३