सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा बेतिथि

देशभर ९८ प्रतिशत धान रोपाइँ, घट्दै उत्पादन

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर ९८ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले साउनको अन्तिममा तथ्याङ्क सार्वजनिक गर्दै मुलुकभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा रोपाइँ हुने स्थान रहेकोमा १३ लाख ४६ हजार ९२० हेक्टरमा रोपाइँ भएको जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा ५१ हजार ६३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको छ । यति हुँदाहुँदै पनि राष्ट्रिय योजना आयोगले भने यो वर्ष धान उत्पादन घट्ने आँकलन गरेको हो । गत वर्ष ५५ लाख ५० हजार ८७८ टन धान उत्पादन भएको थियो । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा उत्पादनमा केही कमी आएको थियो ।

उक्त अवधिमा अघिल्लो वर्षभन्दा ५९ हजार १३३ टन कम उत्पादन भएको थियो । अघिल्लो वर्ष ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । नेपालको इतिहासमा सबैभन्दा बढी धान उत्पादन भएको पनि त्यही वर्ष हो । यो वर्ष योभन्दा पनि माथि उत्पादन गर्ने सरकारको योजना थियो । तर मल अभावले त्यसलाई असर गर्नसक्ने देखिएको छ ।

आयोगका अनुसार यस वर्ष उत्साहप्रद रुपमा धान रोपाइँ भए पनि उत्पादन भने घट्नेछ । कृषि मन्त्रालयले किसानलाई समयमै रासायनिक मल उपलब्ध नगराएको कारण उत्पादन घट्ने आयोगले जनाएको छ । आयोगका कृषि हेर्ने सदस्य डा.दिलबहादुर गुरुङले भने, ‘यो वर्ष धान उत्पादन बढ्नुपर्ने थियो, तर गत वर्षको तुलनामा उत्पादनमा ह्रास आउनेछ ।’

विशेषगरी तराई भेगमा उत्पादन घट्ने आँकलन आयोगको छ । डा. गुरुङका अनुसार करिब ५० हजार मेट्रिक टन युरिया समयमा आइदिएको भए नेपालको धान उत्पादन बढेर अर्थतन्त्रलाई नै केही योगदान दिनसक्थ्यो । तर मल नआएपछि विशेषगरी तराईको धान उत्पादन घट्ने देखिएको छ ।

उनले भने, ‘मल नै नहाली राम्रो फल्ने सम्भावना छैन । वर्षातले मात्रै फल्दैन किनकि हामीले रासायनिक मल पहिलेदेखि नै प्रयोग गर्दै आएका छौँ ।’ योजना आयोगले अहिले कोभिड १९ को प्रभावबारेको अध्ययन अन्तिम चरणमा पुर्याएको छ । अध्ययनमा कोभिडको समयमा पनि कृषि उत्पादनलाई असर नगरेको विषय पनि समावेश छ ।

तर मल अभाव देशभरि देखिँदा त्यसले धानको उत्पादन असर पर्ने देखिने भएर यो विषयलाई पुनः अध्ययनमा राखिएको छ । मल अभावको कारण कति उत्पादन घट्नसक्छ भनेर आयोगले अध्ययन गरिरहेको छ । यो वर्ष कोरोना संक्रमण र त्यसपछि सरकारले गरेको बन्दाबन्दीको कारण धेरै मानिसहरु गाँउ फर्किएका थिए ।

कृषि उत्पादन लगाउने समयमा मानिसहरु आफ्नै घरगाउँमा हुँदा कृषिकार्य बढ्ने आँकलन गरिएको थियो । विशेष गरी धानको उत्पादन थालनी गर्ने समयमा नै धेरै मानिहरु गाउँमा पुगेकाले पनि धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । नेपालको प्रमुख बालीमध्येको धानखेतीको लागि समयमा पानी पनि पर्यो ।

नेपालको धेरै स्थानमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । आकाशे पानीकै कारण यो वर्ष त्यस्ता स्थानमा समेत धानखेती गरिएको छ । जसकारण यो वर्ष गत वर्षको तुलनामा पनि धानखेती बढी भएको कृषि विकास तथा पशुपन्छी मन्त्रालयकै तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ११:५७