सूचनाको शक्ति - The Power Of Information

        

भारत–चीन सम्बन्ध

चीनसँगको विवादित क्षेत्र गलवानमा खटाइयो गोर्खा सैनिकका तीन वटा बटालियन

फाइल तस्वीर

काठमाडौं । भारत सरकारले चीनसँगको विवादग्रस्त सिमानामा फेरि नेपालीहरु सम्मिलित भारतीय सेनाको गोर्खा रेजिमेण्टलाई खटाएको बुझिएको छ । भारतीय नागरिकमात्र भएको विहार रेजिमेण्टका सन्तोष बाबु यादव नाम गरेका कर्णेलसहित २० जना भारतीय सैनिकहरु मारिएको केही समयपछि गलवानमा गोर्खा सैनिकका तीन वटा बटालियन नै खटाइएको छ ।

यी बटालियनहरुलाई एक एक गर्दै त्यहाँ पठाइएको हो । गोर्खा फौजको एक बटालियनमा १२ सयको संख्यामा सैनिकहरु कार्यरत छन् । यस हिसावले ३६ सय सैनिकहरु भारत र चीनको सीमा गलवान क्षेत्रमा अहिले खटाइएको छन् । हाल भारत चीन विवादित गलवान क्षेत्रमा अधिकांश नेपाली नागरिकहरु भर्ती भएका गोर्खा बटालियनलाई खटाइएको स्रोतले जनाएको छ ।

बटालियनका मुख्य कमाण्डर भने भारतीयहरु नै छन् । ती बटालियनमा नेपालका पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा स्थायी बसोवास भएका युवाहरु भर्ती गरिएका छन् । केही दिनअिघमात्र यो क्षेत्रमा खटिएका नेपाली मूलका दीक्षान्त थापाको मृत्यु भएको छ । उनी गोर्खा फौजमा मेजर दर्जामा कार्यरत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दीक्षान्तका पितासमेत भारतीय फौजमा कार्यरत रहेको बताइन्छ । नेपालमा गोर्खा भर्तीबारे बहश भइरहेको बेला भारतले चीनसँग विवादग्रस्त क्षेत्रमा गोर्खा सैनिक खटाएको हो । भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि मिचेर आफ्नो नक्सामा पारेको विरोधस्वरुप आफ्नो भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतका बीचको सम्बन्धमा ठूलो दरार आएको छ ।

भारतले नेपाली भूमि मिचेर नेपाल र नेपालीविरुद्ध हेपाहा प्रबृत्ति देखाएकोमा नेपालमा भारतविरोधी भावना तीब्र गतिमा बढेको छ । गलवान क्षेत्रबाट नेपालमा रहेका बुवा, आमा, श्रीमती र छोराछोरीहरुसँग कुराकानीका लागि टेलिफोन गर्न रुटिनअनुसार पाइए पनि सामाजिक सञ्जाल ह्वाट्सएप, फेसबुक र म्यासेन्जर चलाउन पूर्णतया प्रतिबन्ध लगाइएको छ ।

नेपालमा गोर्खा भर्तीबारे चर्चा भइरहेको र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गार्खा भर्तीबारे पुनर्विचार गरिनुपर्ने धारणा राखेको सन्दर्भमा सैनिकहरुमा मनोबैज्ञानिक असर पर्न सक्ने कारण सामाजिक सञ्जालहरु चलाउन प्रतिबन्ध लगाइएको बताइएको छ । आफ्नो भूमि मिच्ने भारतको भूमि रक्षाका लागि छिमेकी देश चीनसँग लडाईं गर्न र ज्यान जोखिममा किन पार्ने भन्ने भावनाले गार्खा रेजिमेण्टमा कार्यरत सैनिकहरुमा निराशा आउने जोखिमका कारण पनि उनीहरुलाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको हुनसक्ने स्रोतको दावी छ ।

नेपाली नागरिक र नेपाली मूलका युवाहरुसमेत गरी भारतीय सेना र भारतका अन्य सुरक्षा फौजमा गरी ७० हजारको संख्यामा कार्यरत छन् । यीमध्ये अधिकांश फौजीहरुलाई भारत र पाकिस्तानको विवादग्रस्त सीमा र अन्य द्वन्द्वग्रस्त इलाकाहरुमा खटाइदै आएको छ । चीनसँग भारतको सामान्य हानाहान नै मात्रै भयो भने पनि गलवान क्षेत्रमा बग्ने रगत नेपाली युवा वा नेपाली मूलका भारतीयको हुने निश्चित छ । त्यसो त धेरै नेपालीहरु युवाहरु भारत पाकिस्तान तनावमा हुने गोलाबारीमा ज्यान गुमाउनेमा पर्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार १०:२१