सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आज र भोली किस्ताबन्दीमा निषेधाज्ञा, जनस्तरमा तीब्र आलोचना

बाँके । स्थानीय प्रशासनले बाँकेमा आज र भोली किस्ताबन्दीमा ‘दुई दिने निषेधाज्ञा’ जारी गरेको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिने क्रम नरोकिएको भन्दै किस्ताबन्दीमा स्थानीय प्रशासनले हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको हो । तर, बाँकेमा कोरोना संक्रमण फैलिने क्रम भने जस्तको तस्तै छ ।

हरेक दिनजसो दर्जनौं संक्रमित थपिरहेका छन् । पछिल्लो चारदिनको तथ्यांक मात्र हेर्ने हो भने दैनिक संक्रमित थपिनेको संख्या ४५ भन्दा बढी छ । थप जोखिम आँकलन गर्दै बाँकेमा आज शुक्रवारदेखि लागु हुने गरी हरेक हप्ताको शुक्रवार र शनिवार निषेधाज्ञा गरिँदैछ । अनावश्यकरुपमा हिँड्डुलमा समेत रोक लगाउने गरी निषेधाज्ञा गर्न लागिएको हो ।

तर जनस्तरमा यो निर्णयको तीब्र आलोचना भएको छ । लामो समयदेखिको लकडाउनबाट आजित भएका सर्बसाधारणले हप्तामा दुई दिन गरिने निषेधाज्ञाको औचित्य माथि प्रश्न उठाइरहेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनीहरु भन्छन्, ‘कोरोना शुक्रवार र शनिवार आउनेजस्तो गरेर किन हप्तामा दुई दिन निषेधाज्ञा गर्ने निर्णय गरेको ?’

संक्रमित बढेको र एकैपटक लामो समय निषेधाज्ञा गर्ने अवस्था नभएकाले हप्ता दुई दिन निषेधाज्ञा गर्नुपरेको प्रशासनले जनाएको छ । सामाजिक दुरी कायम नभएकोले कोरोना संक्रमणको जोखिम बढेको भन्दै जारी गरिएको ‘दुई दिने निषेधाज्ञा’ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुने सम्भावना भने क्षीण देखिन्छ ।

‘हप्तामा पाँचदिन खुल्ला छोडने र दुईदिन बन्द गर्ने निर्णयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्भव छैन,’ नेपालगन्जबासी भन्छन्, ‘शुक्रबार र शनिबारमात्र कोरोना भाइरस बजारमा घुम्ने हो र ? अरु बार चाहिँ कहाँ जान्छ ? कि सबै खुल्ला छोडौं, या पूर्णरूपमा निषेधाज्ञा र लकडाउन गरौं । यो दुई दिनले कोरोना रोकिँदैन ।’

यो निर्णयले कोरोनाको जोखिम घटाउन कुनै भूमिका नखेल्ने बताउँदै सर्वसाधारणले निर्णयमा पुनःविचार गर्न माग गरेका छन् । कोभिडविरुद्धको अभियानमा प्रशासनसँग सहकार्य गर्दै आएको निजी क्षेत्रसमेत असन्तुष्ट छ । हप्तामा दुई दिन निषेधाज्ञा गर्ने निर्णयका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई कुनै जानकारी नभएको महासचिव चिरञ्जीवी ओलीले बताए ।

उनले निकास र जोखिम कम नगर्ने निर्णय फिर्ता हुनुपर्ने बताउँछन् । संघकै बरिष्ठ उपाध्यक्ष आदेश अग्रवालले हप्तामा दुई दिनको निषेधाज्ञाले कुनै पनि परिणाम नदिने बताउँछन् । घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुषालले लकडाउनकै औचित्य माथि प्रश्न उठिरहेका बेला बाँकेमा भएको दुई दिने निषेधाज्ञाको अर्थ नभएको बताए ।

कोरोना संक्रमण कम गर्नका लागि लकडाउन र निषेधाज्ञामात्रै विकल्प नभएको नागरिकहरुले बताउँदै आएका छन् । यसका लागि जनस्वास्थ्यका नियम र सरकारी मापदण्ड पालना गर्न आवश्यक भएकोले सरकारी मापदण्ड पालना गर्न गराउन नसक्ने हो भने प्रशासनले लगाउने ‘दुई दिने निषेधाज्ञा’ अर्थहिन भएको अधिकारकर्मीहरूको भनाई छ ।

बाँकेमा सरोकारवाला निकायले स्वास्थ्य प्रोटोकल पालना भए नभएको अनुगमन गरिरहेका बेला भएको दुई दिने निषेधाज्ञाले उनीहरुलाई निरुत्साहित बनाएको छ । तर दैनिकजसो संक्रमित बढ्दै गएकाले संक्रमणको चेन टुटाउन दुई दिन भए पनि निषेधाज्ञा लगाउन बाध्य रहेको प्रशासनले बताएको छ ।

सरकारले किस्ताबन्दीमा निषेधाज्ञा गर्नुलाई आमनागरिकले सहजरूपमा लिएको देखिदैन । लकडाउन वा निषेधाज्ञा जे गरे पनि यसको नतिजा आउनुपर्छ । नतिजाबिनाको हचुवाका भरमा गरिने निर्णयको अर्थहिन हुने भन्दै अधिकारकर्मीहरूले समेत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकोलाई हचुवाको भरमा यस्ता कुनै पनि निर्णय नगर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार ०९:०७