सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकैदिन करिब ८४ हजारमा कोरोना पुष्टि, १,०४३ जनाको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा करिब ८४ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार मात्रै थप ८३ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन यति धेरै संख्यामा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार ४ सय ४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ हजार ३ सय ७६ पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा करिब ७७.०९ प्रतिशत संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ६८ हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म २९ लाख ७० हजार ४ सय ९२ जना निको भएका छन् भने करिब ८ लाख १५ हजार संक्रिय केस रहेका छन् ।

भारतमा पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढिरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर)का अनुसार बुधबार ११ लाख ७२ हजार १ सय ७९ नमुना परीक्षण भएको छ । भारतमा बुधबार साँझसम्म ४ करोड ५५ लाख ९ हजार ३ सय ८० नमुना परीक्षण भएको छ ।

यसैबीच करिब ६ महिनादेखि बन्द रहेको दिल्ली मेट्रो रेल सेवा सेप्टेम्बर ७ देखि पुन: सञ्चालनमा आउने भएको छ । दिल्ली मेट्रोको नयाँ गाइडलाइनअनुसार टोकन प्रयोग गर्न पाइने छैन भने मास्क र स्मार्ट कार्ड अनिवार्य गरिएको छ ।

कोरोना संक्रमणका हिसाबले भारत विश्वमै तेस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ६१ लाख ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा हालसम्म करिब एक लाख ८५ हजारको मृत्यु भइसकेको छ भने २२ लाखभन्दा बढी निको भएका छन् । त्यसैगरी बिहीबार बिहानसम्म विश्वभर दुई करोड ६० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ भने ८ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यस्तै संक्रमण पुष्टि भएकामध्ये एक करोड ७२ लाखभन्दा बढी निको भइसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १२:०७