सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

चामल खरिदमा घोटाला, भण्डारण गुणस्तरहिन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदमा अनियमितता गरेको भेटिएको छ । चामल खरिदमा अनियमितता गरी मुलुकभरका विभिन्न खाद्य गोदाममा गुणस्तरहिन भण्डारण गर्ने गरेको भेटिएपछि चामल खरिदमा घोटाला गरेको देखिएको हो ।

कम्पनीको वार्षिक कार्यक्रम अनुसार करिब ५५ करोड रुपैयाँमा १ लाख क्वीन्टल चामल खरिद गरेर गोदाममा थन्क्याउने कार्य गर्न थालिएको छ । उक्त कम्पनीका केही कर्मचारीको मिलेमतोमा गुणस्तरहिन चामल भण्डारण भैरहेको स्रोतले बताएको हो ।

त्यस्ता चामलका बिषयमा खाद्य प्राविधिकले गोदाममा रहेका चामल न्युन गुणस्तरका भनी प्रमाणित गरेको भएपनि त्यस्ता चामललाई गोदाममै भण्डारण गरिएको छ । प्राविधिकले खरिद गरेको चामलको मापदण्ड नमिलेको प्रमाणित गरेपनि आन्तरीक मिलेमतोमा कागजी प्रक्रिया मिलाएर सोही चामल गोदाममा राखेर विक्री गर्ने गरेका छन् ।

स्रोतका अनुसार खाद्य कम्पनीको थापाथलीस्थित कार्यलयको खाद्य गोदाममा कलैया बाराको लक्कि राइसमिलबाट खरिद गरेको सोना मन्सुली चामलले खाद्य कम्पनीको मापदण्ड पुरा गरेको नदेखिएपनि गोदाममा चामल आएको करिब १५ दिन वितेपछि सो चामल फिर्ता नगरेर गोदाममै थन्क्याइएको थियो ।

मापदण्ड नपुगेको चामल फिर्ता नगरी आन्तरीक मिलेमतोमा चामल खरिदमा चलखेल गर्न आफु अनुकुल कर्मचारीलाई ल्याउन थापाथलीस्थित कार्यलयमा काम गर्ने कर्मचारीलाई समेत परिवर्तन गरेको स्रोतले बतायो । कम्पनीले चामल खरिदसँगै चामल प्याकेजीङ गरीने बोरामा समेत अनियमितता गरेको आशंका गरिएको छ ।

त्यसो त लक्कि राइसमिलबाट थापाथलीस्थित गोदाममा १० हजार क्वीन्टल सोना मन्सुली खरिद गरेको र सो चामल राख्ने काम भैरहेको छ । जसमध्ये ४०० क्वीन्टलको भने भण्डारण सकिएको छ । यसको अतिरिक्त ५ हजार क्वीन्टल स्टिम जिरा खरिद गरी भण्डारण गर्ने तर्फ कम्पनी कार्यरत रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खलानले कम्पनीको वार्षिक कार्यक्रम अनुसार कम्पनीले विभिन्न ठाउँको खाद्य गोदाममा चामल खरिद गरेर भण्डारण गर्ने गरेको बताएका छन् । ४० हजार क्वीन्टल चामल खरिद गरी गरेर भण्डारण कार्य सकिसकेको छ ।

कम्पनीले लाहानमा सोना मन्सुली ९ हजार ५०० क्विन्टल र स्टीम जिरा ५ हजार क्वीन्टल खरिद गरेर गोदाममा भण्डारण गर्ने कार्य पनि सुरु गरेको छ । त्यसैगरी विरगन्जमा सोना मन्सुली ५०० क्वीन्टल र स्टिम ५ हजार क्वीन्टल काठमाडौँ १० हजार सोना मन्सुली, स्टिम ५ हजार क्वीन्टल चामल खरिद गरेर गोदाममा राख्ने कार्य भैरहेको छ ।

त्यस्तै नेपालगन्जमा अरुवा मोटा १८ हजार, स्टिम १० हजार क्वीन्टल, सुर्खेतमा अरुवा मोटा १७ हजार, स्टिम जिरा ३ हजार क्वीन्टल, धनगढीमा मोटा १९ हजार, स्टिम जिरा १ हजार क्वीन्टल चामल खरिद गरेर गोदाममा राख्ने कार्य भैरहेको छ । कम्पनीले सबै ठाउँमा पारदर्शीरुपमा चामल खरिद गरेर गोदाममा गर्दै आएको जिकिर गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०८:५८