सूचनाको शक्ति - The Power Of Information

        

जलवायु

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन चेतावनी

काठमाडौं । आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अहिले (बिहान साढे ६ बजे) पनि गण्डकी र कर्णालीका केही स्थानमा हल्का पानी परिरहेको छ ।

पूर्वी तराईका एक–दुई जिल्लामा घाम देखिएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया बदली (घाम नलागेको, आकाश बादलले ढोकेको) छ । दिउँसो देशका केही स्थान (यो पूर्वदेखि पश्चिमसम्मै पर्छ)मा बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । ‘आज दिनभर मौसम बदली नै रहने सम्भावना छ,’ मौसमविद् प्रधानांगले भने, ‘खासगरी दिउँसोपछि पानी पर्ने सम्भावना छ, काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।’

यस्तै राति पनि देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०७:३६