सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा एक हप्ता निषेधाज्ञा

बझाङ । समुदायमा कोरोना महामारी फैलिएपछि यसको रोकथाम र नियन्त्रणका लागि बझाङमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार जिल्ला कोभिड संङ्कट ब्यवस्थापन समितिको निर्णयले निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लाको दुर्गाथली गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ गर्दा १० जना र बुंगल नगरपालिकासहित केदारस्युँ गाउँपालिकामा पनि स्थानीयमा कोरोना संक्रमण देखिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न जिल्लालाई एक सातासम्मका लागि बुधबार राति १२ बजेदेखि लागु हुने गरी भदौ २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले क्वारेन्टिनमा बसेका ब्यक्तिहरुको पिसिआर रिपोर्ट ढिला आउँदा समुदायमा कोरोना फैलिएको बताए । प्रशासनले निषेधात्रा अवधिभर अत्यावश्यक कामबाहेक सरकारी कार्यालय, यातायातका साधन बन्द गर्नुका साथै आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । साथै जिल्लाका स्थानीय बजारहरु विहान र बेलुका २ घन्टाबाहेक अन्य समय पूर्णरुपमा बन्द गर्ने निर्णय भएको प्रजिअ भण्डारीले जानकारी दिए ।

साथै जिल्लाका १२ वटै स्थानियतहमा १०० वेडसम्मको आइसोलेसन स्थापना गर्ने निर्णय पनि भएको छ । जिल्लामा कोरोना समुदायमा फैलिदै गएकाले सुदूरपश्चिम प्रदेश सरकारलाई ५ हजार भिटिएम किटको माग गर्ने पनि निर्णय भएको छ । बझाडमा अहिले १३५ जना संक्रमित रहेका छन् भने ७७५ जनाको पिसीआर रिपोट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार ०७:३१