सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

जहाज चार्टर गरेर मदिरा ढुवानी !

फाइल तस्वीर

बाजुरा । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ ।

कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भए पनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन/चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए ।

सङ्कटको यो बेलामा मदिरा नआउनुपर्ने हो, तर नेपालगन्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको उनको भनाइ छ । प्रतिकेजी रु.७५ देखि १०० सम्म तिरेर व्यापारीले जहाजमार्फत मदिरालगायत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेशन प्रमुख विनोदकुमार सिंहले बताए ।

नेपालगन्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टी चार्टर गरेर मदिरा आउने गरेको छ । यहाँ आएको मदिरालगायतका सामग्री विशेषगरी पूर्वीउत्तरी भेगको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाको स्थानीय बजारमा जाने गरेको उनले बताए ।

कोल्टी बजारमा मदिरा पसल गरिरहेका मङ्गल थापाले गाडीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताए । यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन ।

मदिरा भने जताततै पाइने गरेको बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए । नगरपालिकाले पटक–पटक मदिरा जहाजमा नल्याउन भनेको भए पनि निजी जहाजले नेपालगन्ज सुर्खेतबाट मदिरा ल्याउने गरेको उनको भनाइ छ । यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा पनि अहिलेसम्म मदिरा ढुवानी नरोकिएको उनको भनाइ छ ।

नागरिक उडड्यन कार्यालय कोल्टीका अनुसार एक महिनामा यहाँ १६० उडान भएका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ । ती उडानबाट ९७ हजार ३०४ केजी सामान ढुवानी भएको र तीमध्ये धेरै मदिरा रहेको कार्यालयको दाबी छ । बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मदिरा ढुवानीलाई निरुत्साहित गर्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:२४