सूचनाको शक्ति - The Power Of Information

        

विकास

जुम्लाका दुई स्थानीय तहमा पाँच शैय्याका अस्पताल

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा पाँच शैय्याका अस्पताल निर्माण हुने भएका छन् । सम्बन्धित क्षेत्रको जनघनत्व, स्थानीय जनप्रतिनिधिको सुझाव र स्वास्थ्य क्षेत्रको मापदण्डका आधारमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिनेछ ।

पाँच शैयाका लागि सात करोड रुपैयाँ, १० शैय्याका लागि ११ करोड रुपैयाँ र १५ शैय्याको भवन निर्माणका लागि भौगोलिक क्षेत्रका आधारमा १६ देखि १८ करोड रुपैयाँसम्म बजेट उपलब्ध गराइने संघीय सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बहुवर्षीय आयोजनाअन्तर्गत सात करोडदेखि १८ करोड रुपैयाँसम्मको लागतमा भवन निर्माण हुनेछन् । यसअघि स्वास्थ्य संस्थाका भवन निर्माणसम्बन्धी योजना शहरी विकास मन्त्रालयअन्तर्गतका भवन डिभिजन कार्यालयले कार्यान्वयन गर्दै आएको थियो ।

छिटोछरितो निर्माण सम्पन्न गर्ने उद्देश्यले अधिकांश भवन सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको मन्त्रालयले जनाएको छ । हरेक स्थानीय तहमा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने सरकारको नीतिअनुसार चालू आर्थिक वर्षमा कर्णालीमा ३९ अस्पताल भवन निर्माण हुने भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १६:०४