सूचनाको शक्ति - The Power Of Information

        

पाँच वटा स्वास्थ्य चौकी भवन बनाउँदै तिला गाउँपालिका

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका पाँच वडामा स्वास्थ्य चौकी निर्माण हुने भएका छन् । सङ्घीय सरकारको बजेटले सो गाउँपालिकाको वडा नं. १, ४, ५, ७ र ९ वडामा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।

एक वडामा एक स्वास्थ्य चौकी र गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कुल एक करोड ९४ लाख ३० हजार रुपैयाँमा पाँच वटा भवन निर्माण गर्न लागेको अध्यक्ष योगीले बताए । उनका अनुसार एउटा भवन निर्माणका लागि ३८ लाख ८६ हजार रकम विनियोजन भएको छ ।

चालु आर्थिक बर्षमै निर्माण सम्पन्न गर्ने गरी स्वास्थ्य चौकी भवन निर्माण हुने गाउँपालिका ईन्जिनियर जनक रोकायाले बताए । उनले गत असार २२ गते बोलपत्र प्रकाशित भएपछि परेका आवेदनलाई एक हप्ताभित्र छनौट गरी निर्माणको कार्य अघि बढ्ने बताए ।

गाउँपालिकाको वडा नं. २, ३, ६ र ८ वडामा स्वास्थ्य चौकी भवनसहितका पूर्वाधार निर्माणका कामहरु अन्तिम चरणमा रहेको र थप पाँच वटा वडामा भवन निर्माणपछि सबै वडा र गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुग्ने गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १५:४८