काठमाडौं । कोरोना संक्रमणका कारण थप आठ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा पाँच, भैरहवामा दुई र वीरगञ्जमा एक जनाको मृत्यु भएको हो । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंकी ३० वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै, तनहुँका एक पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुबै जना मृतक मिर्गौला रोगी रहेको कोभिड व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तरकुमार दासले जानकारी दिनुभयो । यस्तै, ललितपुरको पाटन अस्पतालमा भक्तपुरका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
केही दिनअघि कोरानाकै कारण आमाको मृत्यु भएपछि भेन्टिलेटरमा उपचार गराइरहेका ४० वर्षका पुरुषको मृत्यु भएको हो । १५ दिनअघि कोरोना संक्रमणको पुष्टि भएका ती पुरुषसहित परिवारका अन्य सदस्यमा पनि संक्रमण भएको बताइएको छ ।
यस्तै, भदौ ९ गते अस्पताल भर्ना भएका धादिङका ४७ वर्षका अर्का पुरुष र १३ गते भर्ना भएकी ललितपुर सातदोबाटोकी ७० वर्षीया महिलाको पनि मृत्यु भएको हो ।
यस्तै, रुपन्देहीको भीम अस्पतालमा पनि पश्चिम नवलपारासीको रामग्राम नगरपालिका–५ परासीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो । यही भदौ १४ गते संक्रमणको पुष्टि भएकी महिलाको आइसीयुमा उपचार भइरहेको थियो ।
त्यसैगरी, बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको निधन भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।
भदौ ७ गते संक्रमण पुष्टि भएकी महिलालाई ज्वरो स्वासप्रश्वास र उच्च रत्तचापको समस्या रहेको बताइएको छ । यता वीरगञ्जको गण्डक अस्पतालमा बाराको सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोलका ९७ वर्षका वृद्धको मृत्यु भएको हो ।
मुटु र दम रोगबाट पीडित रहेका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
सत्यपाटी ।