सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

डरपोक बझाङका सिडियो !

बझाङ । ‘दुधको साँक्षी विरालो’ नेपाली उखान अहिले बझाङमा निकै चर्चित छ । बझाङमा कोरोना संक्रमण बढिरहेका बेला ‘दुधको साँक्षी विरालो’ले चर्चा पाइरहेको छ । जिल्लामा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय बझाङ भने ‘दुधको साँक्षी विरालो’ भएर रमिते बनेर बसिरहेको छ ।

पछिल्लो समयमा एउटै स्थानीय तहका ४७ जनामा कोरोना संक्रमण देखिँदा पनि प्रशासन मौन छ । जिल्ला प्रशासन कार्यालयले सञ्चारमाध्यममा अत्यआवश्यक कामबाहेक घर बाहिर ननिस्कने भन्दै आदेश गरिरहेको छ, तर जिल्लाका विभिन्न ठाउँमा प्रहरीकै अगाडि सयौंको संख्यामा भीड जम्मा गरेर राजनैतिक दलका कार्यक्रमहरु गरेर कोरोना संक्रमणको जोखिम बढाइरहेका छन् ।

कोरोना संक्रमण फैलिरहेका बेला राजनैतिक दललाई छुट दिएको स्थानीयहरुको गुनासो छ । तरकारी बेच्न सदरमुकाम चैनपुर आएका एक स्थानीयले प्रश्न गर्दै भने, ‘गाउँमा मास्क पाइँदैन, बजार आएपछि प्रहरीले माक्स नलगाएको भन्दै हामीलाई त बजार आउजाउ गर्न रोक लगाउछन्, १०० रुपैयाँ जरिवाना गर्छन् । पार्टीको कार्यक्रम भएका बेला प्रहरी प्रशासन कता हराउँछ ? भीडभाड भएको किन देख्दैन ? डरपोक बझाङका सिडियो राजनीतिक दलसँग किन डराइरहेका छन् ?’

राजनैतिक दलहरुको कार्यक्रमका भीडभाडले बझाङमा कोरोनाको जोखिम बढेको भन्दै सामाजिक सञ्जालमा खैलाबैला भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते जिल्ला प्रशासनमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसिरहेका बेला जिल्लाको मष्टा गाउँपालिकामा नेपाली काँग्रेस र दुर्गाथली गाउँपालिकामा नेकपाले भीडभाड जम्मा गरेर पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।

जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय भने मुकदर्शक भएको स्थानीयहरुको आरोप छ । जिल्ला प्रशासन कार्यालयले कुनै पनि स्थानमा सभा सम्मेलन, मेला पर्व, जात्रा महोत्सव, पुजा आराधना, राजनीतिक दलका सभा सम्मेलन नगर्न भनिए पनि त्यस्ता कार्यमा संलग्नलाई कारबाही गर्न सकिरहेको छैन । तर, बजारमा मास्क नलगाएर हिँड्डुल गर्ने सर्वसाधारणलाई भने कारबाही गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले धेरै संक्रमित रहेका स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरुले कुनै पनि सभा सम्मेलन नगर्ने प्रतिबद्घता गरेको बताए । उनले दुर्गाथली गाउँपालिकाको वडा नं. ४, ५ र ७, खप्तडछान्ना गाउँपालिकाको वडा नं. ६ र छविस पाथिभेरा गाउँपालिकाको वडा नं. ६ मा १४ गते २१ गतेराति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी पनि दिए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १६:३५