सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय परिचय पत्रका लागि बर्दियामा विवरण संकलन गरिँदै

बर्दिया । राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम अन्तरगत बर्दियामा व्यक्तिगत विवरण संकलनसहितको परिचय पत्र लागू गर्ने कार्य सुरु गरिएको छ । सरकारको नीतिअनुसार सोमबारदेखि विवरण दर्ता प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

गुलरिया नगरपालिका–५ निवासी १०७ वर्षीय लक्ष्मीकुमारी गौतमलाई दोसल्ला ओढाएर सम्मानसहित व्यक्तिगत विवरण संकलन कार्य सुरु गरिएकोे प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी बताए । साथै विवरण संकलनका लागि जिल्ला प्रशासनमा बोलाइएकी बृद्धालाई प्रमुख जिल्ला अधिकारीले गर्नुभयो । हाल नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा आउने व्यक्तिहरुको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिने प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको जोखिम कम हुने वित्तिकै पालिकास्तरमा घुम्ती टोली पठाएर विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारीले बताए । राष्ट्रिय परिचयपत्र व्यक्तिगत र जैविक (वायोमेट्रिक) विवरण सहितको हुनेछ । परिचय पत्रमा व्यक्तिगत विवरण, फोटो, औँठाको छाप, आँखाको रेटिना स्क्यान र हस्ताक्षरसहितको विवरण डिजिटल विधिबाट संकलन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण ढकालले बताए ।

परिचय पत्रका लागि नागरिकता, नाता खुल्ने कागजात, बसाईसराई प्रमाण, बुबा, आमा, बाजे, बजैको नाम समेत अनिवार्य हुनुपर्ने बताइएको छ । एक व्यक्तिको व्यक्तिगत तथा जैविक विवरण अर्कोसँग नमिल्ने भएकाले यसलाई सबैभन्दा भरपर्दो परिचय पत्र मानिएको छ । सरकारले ५ वर्षभित्र सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १६:०९