सूचनाको शक्ति - The Power Of Information

        

क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ।

रथयात्रा स्थगन गरिएकाले सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी इन्द्रजात्रा मनाउन लागिएको गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरिप्रसाद सुवेदीले बताए।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मूख्य दिन हो। आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो। यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ।

जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्ने निर्णय गरेको थियो। यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् १४ भदौ बिहान ७:७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो।  रासस

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १०:०६