विराटनगर । ट्याक्टरमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सोमबार साँझ विराटनगरबाट ठूलो परिणामको गाँजा बरामद गरेको छ।
को २ त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको रानी विराटनगरस्थित बोर्ड आउट पोस्ट (बीओपी) को टोलीले साँझ ७:३० बजेतिर एक सय ४६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो।
सशस्त्रले ट्याक्टर चालक सुनसरीको गढी गाउँपालिका–३ का ३४ वर्षीय सुरेशकुमार मेहतलाई पनि नियन्त्रणमा लिएको छ। सशस्त्रले पक्राउ गर्दा ट्याक्टरमा उनी एक्लै थिए।
सुनसरीको धरान, इटहरी र दुहवी हुँदै विराटनगर भित्र्याइएको गाँजा नियन्त्रणमा लिन सोमबार बिहानैदेखि सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले हवल्दार भीम अधिकारी, सहायक हवल्दार फणिन्द्र कोइराला र पूर्णकुमार लिम्बूलाई परिचालन गरेका थिए। बिहान १० बजे गाँजा विराटनगर भित्रियो भन्ने सूचना पाएका अधिकारी, कोइराला र लिम्बूले दिनभर मेहनत गरेर साँझ नियन्त्रणमा लिन सफल भएका हुन्।
यही ट्याक्टरमा गाँजा भारत जाने गरेको सूचना पाएको सशस्त्रको टोली दुई महिनादेखि खोजीमा जुटेको थियो। तर बिहान १० बजे विराटनगर छिरेको सूचना रहे पनि साँझ मात्रै गाँजा लोड गरेको ट्याक्टर देखा परेको थियो। दिनभर कतै राखेर साँझको समयमा सुरक्षाकर्मीलाई छल्दै भारत कटाउने प्रयास हुँदै गर्दा पिछा गरेर नियन्त्रणमा लिन सकिएको सशस्त्रको भनाइ छ।
विराटनगर महानगरपालिका–१७ आईसीपी (एकीकृत भन्सार जाँच चौकी) जाने सडकबाट ट्याक्टर, चालक र ठूलो परिणामको गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।
उनका अनुसार प्लाष्टिकमा प्याक गर्दै ट्याक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा एक सय २७ पोका गाँजा बरामद भएको हो। ट्रलीमा बनाइएको ‘फल्स बटन’मा गाँजा बाहेक ट्याक्टर पूरै खाली रहेको पौडेलले जनाए।
सशस्त्र प्रहरीले यति धेरै परिणाममा गाँजा बरामद गरेको प्रदेश १ कै पहिलो घटना भएको जनाएको छ। योसँगै कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकै समयमा गाँजा भारततर्फ तस्करी हुने गरेको पुष्टि भएको एसपी पौडेलले बताए। त्यसलाई आधार बनाउँदै नेपाल–भारत सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै कडाई थालिएको उनको भनाइ छ।
पक्राउ परेका चालक मेहताले भने आफूले विराटनगरको शनिमन्दिरबाट ट्याक्टर ‘रिसिभ’ गरेको बताएका छन्। उनले गाँजा कसको र कहाँ लैजानु पर्ने हो भन्ने नखुलाएको सशस्त्रले जनाएको छ।
आफूलाई गाँजा र ट्याक्टरका बारेमा केही पनि जानकारी नभएको उनले बताएका छन्। ‘ट्याक्टर विराटनगर–१८ भेडियारी पुर्याएबापत १० हजार दिने सर्त थियो’, चालकका भाइलाई उद्धृत गर्दै सशस्त्र स्रोतले भन्यो, ‘तर ट्याक्टरमा के राखिएको छ भन्ने मलाई थाहा थिएन।’ मेहताले पैसा दिने सर्त कसले राखेको थियो भन्ने पनि खुलाएका छैनन्। धनकुटामा अवैध रुपमा उत्पादन हुँदै आएको गाँजा निषेधाज्ञाको समयमा चलाखपूर्ण हिसाबले भारत कटाउन खोजिएको सशस्त्रको भनाइ छ।
‘सुरुमा चालकसँग सशस्त्रको टोलीले ट्याक्टरको कागजपत्र मागे पनि उसले देखाउन सकेन’, सशस्त्रका एसपी पौडेलले भने, ‘त्यसपछि खानतलासी सुरु गर्दा व्यवस्थित रुपमा ‘फिट’ गरेर बनाएको ‘फल्स बटन’ भित्र लुकाएर राखेको लागुऔषध गाँजा बरामद भएको हो।’
सशस्त्रले बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्याक्टरसहित चालकलाई सोमबारराति आवश्यक कारबाही अघि बढाउन इलाका प्रहरी प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ।
रानीका प्रहरी निरीक्षक दीपक थापाले चालकविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी दिए। ‘प्रारम्भिक अनुसन्धानबाट गाँजा लोड गरेको ट्याक्टर विराटनगरसम्म अर्कैले ल्याएको देखिन्छ’, उनले भने, ‘विराटनगरबाट भने पक्राउ परेका चालकले ट्याक्टर चलाएको खुलेको छ।’
त्यसअघि चलाएर ट्याक्टरलाई विराटनगरसम्म ल्याउने व्यक्ति र लागुऔषध गाँजाको ओसारपसार एवं कारोबारमा संलग्नहरुको खोजी तीव्र बनाइएको जानकारी थापाले दिए। पक्राउ परेका मेहताले दिएको सूचना र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गाँजा कारोबार गर्ने गिरोहसम्म पुग्ने र त्यो गिरोहको सञ्जाल भत्काउने प्रयास थालिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
प्रदेश १ मा सबैभन्दा बढी गाँजा उत्पादन हुने जिल्लाका रुपमा धनकुटा चिनिन्छ। त्यहाँ लगायत अन्य पहाडी जिल्लामा उत्पादन हुने गाँजा सवारी एवं ढुवानीका साधनमा लुकाइछिपाइ भारतसम्म पुर्याउने गरिएको प्रहरीबाट यसअघि गरिएका विभिन्न अनुसन्धानले देखाएको छ। नेपालमा प्रति किलोग्राम १० हजार रुपैयाँमा गाँजाको किनबेच हुने प्रहरीको भनाइ छ।
त्यसैलाई भारत पुर्याउँदा प्रति किलो २० हजारभन्दा बढी पर्ने भएकाले नेपालमा उत्पादित गाँजा अवैध रुपमा सुरक्षाकर्मीलाई छल्दै सीमा कटाउने गरिएको नेपाल प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार भारतको बिहार लगायतका स्थानमा गाँजाको माग उच्च छ।
अन्नपूर्ण पोष्टमा खबर छ ।
।