सूचनाको शक्ति - The Power Of Information

        

कालिकोट पहिरो : मृतकको संख्या १० पुग्यो, घटनास्थलमै पोष्टमार्टम

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए । शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल थियो ।

यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।

यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।

घटनास्थलमा पोष्टमार्टम 

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार मृतकको पोष्टमार्टम घटनास्थलमा गरिँदै छ । त्यसका लागि डाक्टरहरुको टोली खटाइसकेको उनले जानकारी दिए ।

‘शवहरु सदरमुकाम ल्याउन सम्भव छैन । त्यसैले आज विहान सातै बजे पोष्टमार्टम गर्न जाऊ भनेर मैले डाक्टरहरुलाई खटाइसकेको छु,’ प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘सायद अहिलेसम्म टोली हिँडिसक्यो होला ।’

घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्दछ । हाल ठाउँ–ठाउँमा पहिरो गएकाले चार घण्टासम्म लाग्न सक्ने प्रजिअ गैरेको भनाइ छ । त्यसैले शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाउन आफूले निर्देशन दिएको प्रजिअ गैरेले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार ०८:३३