सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

‘घट्यो कोरोना परीक्षण शुल्क, हट्यो अतिरिक्त शुल्क’

काठमाडौं । स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ । आइतबार मन्त्रालयमा बसेको नियमित बैठकले सेवा शुल्कसहित अधिकतम ४४ सय रुपैयाँ तोकेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए ।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘सःशुल्क रुपमा कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले कोभिड–१९ को पीसीआर परीक्षणवापत सेवा शुल्कसहित अधिकतम ४४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने ।’

यसअघि सरकारले ५५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याव नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुट समेत दिएको थियो । नयाँ निर्णय अनुसार आफ्नै ल्याब भएका अस्पतालले पहिलेको तुलनामा ११ सय रुपैयाँ कममा गर्नु पर्नेछ भने आफ्नो ल्याव नहुनेले पनि ४४ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।

अब उनीहरुले ल्याव छैन भनी सरकारले तोकेको दरभन्दा १० प्रतिशत थप पनि लिन पाइने छैन । यसअघि केही अस्पतालले सरकारले तोकेभन्दा पनि बढी शुल्क लिएको पाइएको थियो । ग्राण्डी र क्यान्सर अस्पतालले ७५ सय रुपैयाँ लिने गरेका थिए । यसअघि तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई के कारबाही गर्ने भन्ने विषयमा भने आइतबार छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतवार १६:१६