सूचनाको शक्ति - The Power Of Information

        

१९ महिने शिशुसहित बाँकेका १० जनामा कोरोना पोजेटिभ

बाँके । बाँके र बर्दियामा आइतबार थप १२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४९० जनाको कोरोना परीक्षण भएकोमा १२ जनामा संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेका १० जनामा कोरोना संक्रमण देखिएको हो । उनका अनुसार नविल बैंकमा कार्यरत ३ जना, नेपाल टेलिकमका २ जना कर्मचारी, नेपालगन्ज मेडिकल कलेजका कर्मचारी एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपालगन्ज वडा नं. ६, ९ र १० का एक–एक जना र जानकी–२ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये नेपालगन्ज–१० का १९ महिने शिशुमा समेत कोरोना देखिएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ ।

बाँकेमा हालसम्म एक हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भइसकेको छ भने विभिन्न आइसोलेसनमा २७६ जना संक्रमित उपचाररत रहेका छन् । त्यस्तै आजै बर्दिया मधुवन–७ र बाँसगढी–८ का एक–एक जना गरी दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा कुल ३४ हजार ३९० वटा नमुनामध्ये हालसम्म ३४ हजार २९० वटा नमुना परिक्षण गरिएको छ भने १०० परिक्षणकै क्रममा रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हालसम्म परिक्षण भएका नमुनामध्ये एक हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतवार १६:०५