सूचनाको शक्ति - The Power Of Information

        

अर्थतन्त्र

बाँकेका ११ उद्योगलाई ‘गुणस्तर चिन्ह’

बाँके । बाँकेका ११ वटा उद्योगले नेपाल गुणस्तर (एनएस) प्रमाण चिन्ह पाएका छन् । सरकारले ११ प्रकारका वस्तुको आयात र बिक्री वितरण गर्दा एनएस चिन्ह लिन अनिवार्य (बाध्यकारी) गरेसँगै बाँकेका ११ उद्योगले मापदण्ड पुरा गरेपछि एनएस चिन्ह पाएका हुन् । आफ्ना उत्पादन गुणस्तरीय छ भनेर आमउपभोक्तालाई विश्वास दिलाउन एनएस चिन्ह लिने बढ्दै छन् ।

यीबाहेक अरू उत्पादनका स्वेच्छिकरूपमा समेत व्यवसायीले एनएस चिन्ह लिने गरेको नापतौल तथा गुणस्तर नियन्त्रण विभागले जनाएको छ । नेपालमा वस्तु तथा सेवाको गुणस्तरलाई नियमन गर्न औद्योगिक उत्पादनको गुणस्तर सुधार र परिमाणात्मक बृद्धिको उद्देश्यले २०३३ सालमा गुणस्तर निर्धारण समितिको गठन भएको थियो ।

त्यसलाई कार्यान्वयन गर्न नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ को लागू गर्दै उक्त समितिलाई उद्योग मन्त्रालय अन्तरगत विभागीयस्तरमा परिवर्तन गरेर नेपाल गुणस्तर कार्यालयमा परिणत गरिएको छ । उक्त विभागले २०३७ सालदेखि गुणस्तर चिन्ह प्रदान गर्न थालेको हो । जसअन्तरगत अहिले बाँकेका उद्योगले पनि उक्त चिन्ह प्राप्त गरेका छन् ।

जसमा विकास फलोर मिल, जगदम्बा फलोर मिल, जय बागेश्वरी सिमेन्ट, मेघा इलेक्ट्रिसिटी, ओम गणपति, शौरभ तेलमिल, जयमंगलम सिमेन्ट अंकुर टप, मित्तल प्रालि, बागेश्वरी आइरन इन्ड्रस्ट्रिज शिखर केवल रहेका छन् । कुनै पनि उद्योगले गुणस्तर चिन्हको माग गर्दै दिएको निवेदनका आधारमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षणपश्चात एनएस चिन्ह दिने गरिएको छ ।

उक्त चिन्ह दिनु पहिले र पछि पनि उद्योग तथा बजारबाट ती सामग्रीको गुणस्तर परीक्षण भइरहन्छ । बजारमा प्रतिष्पर्धा बढिरहँदा आफ्ना उत्पादन गुणस्तरीय भएकाले एनएस चिन्ह पाएको हो भन्ने देखाउन चाहने उद्योग क्रमिकरूपमा बढिरहेका निर्देशक दीपक ज्ञवालीले बताए । गुणस्तर चिन्ह लिइसकेपछि पनि विभागले वर्षेनी बजारबाट र उद्योगमै पुगेर उत्पादनको गुणस्तर हेर्ने गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतवार १५:३४