सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस नेता महर्जनको निधन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति पन्नाकाजी महर्जनको निधन भएको छ ।

६७ वर्षीय महर्जनको शनिबार बिहान काठमाडौँ महानगरपालिका–१५, डल्लू स्थित आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

२०३६ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका महर्जनले नेपाली कांग्रेसको नवौँ महाधिवेशनपछि तीन पटकसम्म क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

महर्जन नेपाल ट्रेड युनियन कांग्रेस तदर्थ समिति काठमाडौँको पूर्व वरिष्ठ उपाध्यक्ष समेत हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा महर्जनले जेल जीवन पनि व्यतित गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व क्षेत्रीय सभापति पन्नाकाजी महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार १४:५५