बाँके । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या ६ हजार १०१ पुगेको छ । जसमध्ये एक हजार २९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १९१ जना रहेका छन् ।
प्रदेशमा ४ हजार ७०३ जना सङ्क्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए ।
बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ । सूचना अधिकारी पौडेलका अनुसार सङ्क्रमण देखिएका ८७ जना अझै पनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।
शुक्रबारसम्म १ हजार ४७६ जना क्वारेन्टिनमै बसेका छन् । अहिलेसम्म ९७ हजार ५९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार ६१९ जनाको नतिजा आएकोमा ६ हजार १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।
सत्यपाटी ।