सूचनाको शक्ति - The Power Of Information

        

आइसोलेसनमा भिआईपीहरु, नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका छन् ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भेटिएपछि केही दिनअघि सोही स्थानमा बैठकमा सहभागी भएकाहरु होम आइसोलेसनमा बसेको बताईएको छ ।

यस्तै सचिव महेन्द्र गुरागाई पनि होम आइसोलेसनमा बसेका छन् । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो ।

बैठकमा सहभागी एक कर्मचारीमा सङ्क्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको छ । तर नतिजा आउन बाँकी छ ।

दुई सचिवालय सदस्यहरु आइसोलनमा बसेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि स्थगित भएको छ । सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच आज छलफल गरेर आजको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ०९:५२