सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

किस्ताबन्दीमा ‘दुई दिने निषेधाज्ञा !’

बाँके । स्थानीय प्रशासनले बाँकेमा आगामी शुक्रबार र शनिबार ‘दुई दिने निषेधाज्ञा’ जारी गर्ने निर्णय गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको संयोजकत्वमा शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ‘दुई दिने निषेधाज्ञा’ जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दिर्घराज उपाध्यायले केन्द्रको निर्णय अनुसार शुक्रबार र शनिबार ‘दुई दिने निषेधाज्ञा’ जारी हुनेछ । सामाजिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम बढेको भन्दै जारी गरिएको ‘दुई दिने निषेधाज्ञा’ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुने सम्भावना भने क्षीण देखिन्छ ।

‘हप्तामा पाँचदिन खुल्ला छोडने र दुईदिन बन्द गर्ने निर्णयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्भव छैन,’ नेपालगन्जबासी भन्छन्, ‘शुक्रबार र शनिबार कोरोना भाइरस बजारमा घुम्ने हो र ? अरु बार चाहिँ कहाँ जान्छ ? कि सबै खुल्ला छोडौं, या पूर्णरूपमा निषेधाज्ञा र लकडाउन गरौं । यो दुई दिनले कोरोना रोकिँदैन ।’

सूचना अधिकारी उपाध्यायले संक्रमितको संख्या बढ्दै गएका कारण स्थानीय प्रशासनलाई फेरि निषेधाज्ञा जारी गर्नुपर्ने बाध्यता आएको बताए । संक्रमित बढेको र एकैपटक लामो समय निषेधाज्ञा गर्ने अवस्था नभएकाले हप्ता दुई दिन निषेधाज्ञा गर्ने निर्णय भएको उनले बताए । दुई दिन भए पनि भीडभाड नियन्त्रण गर्न सजिलो हुने अपेक्षा गरिएको उनको भनाई छ ।

कोरोना संक्रमण कम गर्नका लागि लकडाउन र निषेधाज्ञामात्रै विकल्प नभएको स्थानीय नागरिकहरुले बताउँदै आएका छन् । यसका लागि जनस्वास्थ्यका नियम र सरकारी मापदण्ड पालना गर्न आवश्यक भएकोले सरकारी मापदण्ड पालना गर्न गराउन नसक्ने हो भने प्रशासनले लगाउने ‘दुई दिने निषेधाज्ञा’ अर्थहिन भएको अधिकारकर्मीहरूको भनाई छ ।

सरकारले किस्ताबन्दीमा निषेधाज्ञा गर्नुलाई आमनागरिकले सहजरूपमा लिएको देखिदैन । लकडाउन वा निषेधाज्ञा जे गरे पनि यसको नतिजा आउनुपर्छ । नतिजाबिनाको हचुवाका भरमा गरिने निर्णयको अर्थहिन हुने भन्दै अधिकारकर्मीहरूले समेत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रकोलाई हचुवाको भरमा यस्ता कुनै पनि निर्णय नगर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ०९:३०