सूचनाको शक्ति - The Power Of Information

        

अपराध

आफ्नै सालोको अपहरण गर्दै ससुरासँग फिरौती माग्ने ज्वाई प्रहरी फन्दामा

बाँके । बाँके प्रहरीले अपहरणमा परेका एक बालकलाई तीन दिनभित्रै अपहरणमुक्त गरेको छ । प्रहरीले अपहरणमा परेका खजुरा गाँउपालिका–५ का १३ वर्षिय बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरणमा परेको तीन दिनमै अपहरणमुक्त गरेको हो ।

भदौ ९ गते अपहरणमा परेका बालकलाई जानकी गाँउपालिका–५ बाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार अपहरणमा संलग्न नेपालगन्ज उपमहानगरपालिका–१६ का २७ वर्षका कल्लु भनिने कलिम खाँलाई पनि पक्राउ गरिएको छ ।

बालक अपहरण गरी फिरौती माग्दै आएका खाँलाई पक्राउ गरी बालकको उद्दार गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । अपहरणमा परेका १३ वर्षिय बालक इन्तजार खाँ र अपहरणमा संलग्न २७ वर्षिय कलिम खाँका साला हुन् । ससुराले जग्गा किन्न राखेको पैसा हात पार्न कलिमले सालाको अपहरण गरेको प्रहरीले जनाएको छ ।

भदौ ९ गते राती साढे आठ बजे मोहर्रम हेर्न गएको बेला कलिमले इन्तजारलाई अपहरण गरेको पुष्टि भएको छ । भदौ १० गते जग्गा किन्ने तयारीमा रहेका ससुराले चार लाख ८५ हजार देखाएपछि कलिमले उक्त रकम हात पार्न सालाको अपहरण गरेको प्रहरी उपरीक्षक रानाले बताए । अपहरण गरेर कलिमले सालालाई आफ्नै घरमा राखेका थिए ।

सालालाई घरमा राखेर ससुरालीमा १० लाख रुपैयाँ फिरौती मागेका थिए । १० गते घरपरिवारले प्रहरीलाई खबर गरेको थियो । रातभरी अप्रेसन चलाएर प्रहरीले ११ गते बालकको उद्धार गर्नुका साथै कलिमलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रानाले बताए । प्रहरीले कलिमले प्रयोग गर्ने भे ४ प २३४४ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

‘बालक अपहरण गर्ने ब्यक्ति पीडित बालकका आफ्नै भेनाजु हुन्,’ एसपी रानाले भने, ‘भदौ ९ गते बालक अपहरणमा परे, हामीलाई भदौ १० गते बेलुका खबर प्राप्त भयो । खबर प्राप्त भएलगत्तै मेरो नेतृत्वमा तीन वटा प्रहरी टोली परिचालन गरि २४ घण्टा नवित्दैै बालकलाई सकुसल उद्धार गर्दै अपहरणकारीलाई पनि पक्राउ गर्न सफल भयौं ।’

पक्राउ परेका खाँलाई मुलुकी ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरको दफा २१३ बमोजिम ७ वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्मको जरिवाना हुने व्यवस्था छ । सोही अनुसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए ।

यस्तो थियो घटना

ससुराले जमिन किन्न जम्मा गरेर राखेको चार लाख ८० हजार रुपैयाँ देखेका कल्लुको मनमा पाप पलाएपछि सालालाई अपहरण गर्ने योजनामा पुगे कल्लु । ससुराले भदौं १० गते जमिन किन्ने निधो गरेका थिए । जग्गा किन्दा अपुग हुने रकम पनि जोरजाम गर्दै थिए । तर, त्योभन्दा पहिले भिनाजुले सालाको अपहरण गरे ।

गाउँमा मोहर्रमको रमाइलो हेर्न गएका इन्तजार आफू अपहरणमा परेको पत्तै पाएनन् । इन्तजारले आफ्नै भिनाजुमाथि शंका गर्ने कुनै आधार थिएन । अबोध बालक त्यसमा पनि आफ्नै भिनाजुले राती किन र कहाँ लगिरहेको पत्तो पाएका थिएनन् । जब प्रहरीले इन्तजारलाई आफ्नै फुपुको घरबाट उद्दार गरी अभिभावकको जिम्मा लगायो बल्ल उनले पत्ता पाए ।

इन्तजारलाई कल्लुले अपहरण गरि पहिलो रात आफ्नो घरमा राखे । यता कल्लुले अपहरित बालकको घरपरिवारसँग दोहोरो भुमिका खेलिरहे । छोरो हराएपछि इन्तजारका बुवाआमाले छरछिमेक, आफू निकटतम ब्यक्ति र वडाध्यक्षसँग परामर्श लिइरहेका थिए । सोही क्रममा अपहरणकारी कल्लुले फिरौती रकम माग गरे ।

अपहरणकारी कल्लु र इन्तजारका बुवाबीच फिरौती रकममा बार्गेनिङ्ग भइरहँदा पीडित परिवारले प्रहरीलाई खबर गर्ने निधो गरेको कल्लुले पत्ता पाए । प्रहरीले बालक अपहरणमा परेको खबर आफ्ना मातहतका सबै प्रहरी चौकी, विट र नाकामा पुर्याइसकेको थियो । नेपाल–भारत सीमा नाकामा कडाई गरेको थियो ।

कहिँ भाग्ने अवस्था पनि थिएन । स्वयं एसपी राना र डिएसपी सुवास खड्का तथा खजुरास्थित ईलाका प्रहरी कार्यालय धनौलीबाट सादा पोशाकमा छुट्टाछुट्टै टोली बनाई प्रहरी बालकको खोजीमा थियो । सहजै डरधम्की र चलाखीका साथ मोटो रकम पाउने योजनामा रहेका कल्लुले साला अपहरणको खबर पुलिसकहाँ गएको पत्तो पाएपछि उनले अपहरण गरेका सालालाई उनकै फुपुको घरमा लगेर छाडेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १८:१२