काठमाडौं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ ।
तथापि अन्तिम निक्र्योल हुन बाँकी छ । खोपको परीक्षण गर्न दिन हुने नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । उनले चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताए ।
डब्लूूएचओको सूचीमा नरहेको र बाहिर कुनै जर्नलमा समेत प्रकाशित नगरिएको रसियाले उत्पादन गरेको ‘स्पुतनिक भी’ नामको खोप नेपालमा परीक्षण गर्ने सवालमा थप अध्ययन भइरहेको ज्ञवालीले बताए । उनले भने, ‘त्यहाँको दूतावासमार्फत रुस सरकारसँग खोपको विस्तृत विवरणसहित सबै कागजपत्र मागेका छौँ, त्यो नपाएसम्म परीक्षण अनुमति दिन सकिन्न ।’
त्यो विवरण आएपछि मात्र नेपालमा परीक्षण गर्ने नगर्ने भन्ने बारेमा परिषद् र सरकारले निर्णय गर्नेछ । उनका अनुसार भारतले पनि खोप निर्माण गरिरहेकाले उसले पनि अन्तिम परीक्षणका लागि नेपाललाई दिने भनेको छ । विश्वस्तरमा निर्माण भएका कुनकुन खोपको अन्तिम परीक्षण नेपालमा गर्न दिन योग्य छ भन्ने सवालमा परिषद्ले विज्ञहरुसित छलफल गरिरहेको छ ।
जनस्वास्थ्यलाई असर पर्ने गरी कुनै पनि खोपको परीक्षण नेपालमा नहुने दाबी उनले गरे । उनका अनुसार चीनले नेपाल सरकारसँग परीक्षणका लागि प्रस्ताव गरेको हो । उसले ५०० जनामा खोपको परीक्षण गर्न दिन मागसहित प्रस्ताव पठाएको छ । चीनले निर्माण गरेको खोप फिलिपिन्स, इन्डोनेसिया, ब्राजिल र पाकिस्तानमा समेत अन्तिम परीक्षण अगाडि बढाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोपको परीक्षणमा सहभागी हुन चाहने देशको लाम पनि निकै लामो छ । यसरी अन्तिम परीक्षणमा सहभागी हुने मुलुकले भविष्यमा खोप तयार भएर आएपछि विभिन्न खालका सुविधा र सहुलियत पाउने अवस्था रहन्छ । सोही अनुसार नेपालले पनि विश्वसनीय खोपको अन्तिम परीक्षणमा सहभागी हुनेछ ।
छ खोप अन्तिम चरणमा
डब्लूूएचओका अनुसार परीक्षणको अन्तिम तथा तेस्रो चरणमा यतिबेला छवटा खोप पुगेको छ । सबै खोपको अन्तिम परीक्षणका लागि एक प्रकारले प्रतिस्पर्धा नै छ । पहिलो नम्बरमा अक्सफोर्ड युनिभर्सिटीको मातहत रहेर एस्ट्राजेनाका कम्पनीले निर्माण गरेको खोप छ । दोस्रोमा चीनको साइनोेभ्याक कम्पनीले उत्पादन गरेको खोप, तेस्रोमा चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकलको मातहत रहेर सिनोफार्मले उत्पादन गरेको खोप रहेको छ ।
त्यस्तै, चौथो नम्बरमा सिनो फार्मले बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट मातहत उत्पादन गरेको खोप, पाँचौँ नम्बरमा मोडेर्ना तथा निएडको संयुक्त उत्पादनको खोप र छैटौँ नम्बरमा बायोएनटेक तथा फोसन फर्मा र पिटजर कम्पनीले उत्पादन गरेको खोप तेस्रो तथा अन्तिम क्लिनिकल परीक्षणका क्रममा रहेको छ । यीसहित अग्रस्थानमा रहेका अन्य १६ वटा खोपले दोस्रो चरण पार गरिसकेका छन् । त्यस्तै आठवटा खोपले पहिलो चरण पार गरेको छ । योबाहेक अरू १३९ खोप प्रारम्भिक चरणको क्लिनिकल परीक्षणका क्रममा रहेको डब्लूूएचओले जनाएको छ ।
सत्यपाटी ।