सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा ३३ जनामा कोरोना संक्रमण, आजै देशभर ११११ जना संक्रमित थपिए

बाँके । भेरी अस्पताल नेपालगन्जका थप एकजना चिकित्सकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै भेरी अस्पतालमा पाँचजना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । आज थप भएका चिकित्सक स्त्रीरोग बिशेषज्ञ हुन् । उनको छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि भेरी अस्पतालका कोरोना फोकलपर्सन समेत रहेएका फिजिसियन डा.संकेत रिसालसँगै प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, फिजिसियन डा.रजनी केसी शाह, हार्डजोर्नी विशेषज्ञ डा.राहुल मिश्रलाई कोरोना पोजेटिभ देखिएको थियो । बाँकेमा पछिल्लो २४ घण्टामा ४०० को नमुना परीक्षण गर्दा चिकित्सकसहित ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसमा बाँकेका ३३ र बर्दियाका २ जना छन् । बाँकेमा संक्रमित थपिनेक्रममा नेपाली सेनाको राझा व्यारेकका ६ जना पनि परेका छन् । आज ३३ जना थपिएसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९५३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ भने हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

यस्तै, कोरोनाबाट देशभर थप ८ जनाको मृत्यु भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १६:५५