सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आयल निगमका १५ जना कर्मचारी कोरोना संक्रमित

बाँके । नेपाल आयल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्यालय तथा पेट्रोलियम डिपो अमलेखगन्ज, भैरहवा र वीरगन्ज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

अमलेगन्ज क्षेत्रीय कार्यालयमा ६ जना, भैरहवामा ६ जना र बीरगन्जमा ३ जना गरी १५ जना निगमका कर्मचारीहमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि नै अमलेखगन्जका ४ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त पम्प बन्द भएपछि निगमले पेट्रोलियम पदार्थ वितरण भैरहवाबाट गर्ने व्यवस्था मिलाएको थियो ।

तर, गत सोमबारको पछिल्लो परिक्षणमा अमलेखगन्जमा थप २ जनामा कोरोना संक्रमण देखिएपछि सो पम्प व्यवस्थापनमा निगमले काठमाडौं केन्द्रीय कार्यालबाट १० जना कर्मचारी पठाएको प्रवक्ता उपाध्यायले जानकारी दिए । ती कर्मचारीहरुले आजैबाट अमलेगन्ज पम्प सञ्चालनमा ल्याएका छन् ।

कुल ७५ जना कर्मचारी रहेको अमलेखगन्जमा संक्रमित ६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने बाँकी कर्मचारीहरुलाई पनि विशेष निगरानीमा राखेर काम भइरहेको उपाध्यायले बताए ।

यता, केन्द्रीय कार्यालयमा भने अहिलेसम्म कोही कसैलाई पनि कोरोना नदेखिएको प्रवक्ता उपाध्यायले बताएका छन् । गत अगष्ट १३ मा १४७ जनामा गरिएको पीसीआर टेस्टमा सबैको रिर्पोट नेगेटिभ आएको उपाध्यायको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १४:४४