सूचनाको शक्ति - The Power Of Information

        

जनदबाव

प्राधिकरणमा कुलमानको निरन्तरता प्रायः निश्चित

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तरता दिने प्रायः निश्चित भएको छ । जनस्तरबाट आएको दबाव र उनले चार बर्षमा देखाएको कुशल व्यवस्थापनलाई मध्यनजर गर्दै अन्ततः सरकार घिसिङलाई नै निरन्तरता दिने पक्षमा पुगेको हो ।

घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङले कुशल व्यवस्थापन मार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उनको प्रशंसा सुरु भएको थियो । हरेक क्षेत्रबाट यतिबेला घिसिङलाई नै प्राधिकरणमा निरन्तर दिनुपर्ने माग उठिरहेको छ ।

आम नागरिकदेखि कलाकारसम्मले सामाजिक सञ्जाल मार्फत घिसिङलाई निरन्तरता दिनुपर्ने दबाब दिइरहेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र रुग्ण बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका कारण पछिल्लो समय घिसिङको लोकप्रियता बढ्दो देखिन्छ ।

कलाकारहरुले त घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउनुपर्छ भनेर अभियान नै सुरु गरेका छन् । वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुक पेजमा घिसिङको फोटो राखेर लेखेका छन्, ‘देशमा अन्धकार ल्याउनेहरु धेरै छन तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ, उज्यालो ल्याउनेलाई सम्मान गरौँ । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्नेछ ।’

यसैबीच सत्तारुढ दलभित्र पनि घिसिङको पक्षमा माहोल देखिए पनि केही पूर्व एमालेहरु भने उनलाई प्राधिकरणमा निरन्तरता दिन नहुने पक्षमा देखिएका छन् । तर माओवादी पक्ष भने घिसिङ कै पक्षमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जामन्त्री बर्षामान पुनको अधिकार हस्तक्षेप गरेनन् भने प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले निरन्तरता पाउने एक मन्त्रीले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १३:३३