सूचनाको शक्ति - The Power Of Information

        

आमा सुरक्षा कार्यक्रम

नेपालगन्जमा ३९१४ जना महिलाले लिए निःशुल्क प्रसुति सेवा, डेढ करोड बढी खर्च

नेपालगन्ज–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ्ग सेन्टरमा सुत्केरी चेकजाँच गरिँदै । फाइल तस्वीर

बाँके । मातृ तथा नवशिशु कार्यक्रमअन्तरगत नेपालगन्ज उपमहानगरपालिकाले एक बर्षमा एक करोड, ५९ लाख ८५ हजार खर्च गरेको छ । गर्भवती तथा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउन, सेवाग्राही गर्भवती तथा प्रसूति सेवा लिन आएवापत उक्त रकम खर्च भएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा मातृ तथा नवशिशु कार्यक्रमअन्तरगत आमा सुरक्षा, एएनसी, न्यानो झोला, भिटामिन ‘के’, म्यागनेसियम सल्फेट, क्याल्सियम गुल्कोनेट र निःशुल्क गर्भपतन कार्यक्रममा उक्त रकम खर्च गरेको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

उपमहानगरले सरकारी मापदण्डअनुसार गर्भवती तथा प्रसूति उत्प्रेरणा सेवावापत कम्तीमा चार पटक ४, ६, ८ र ९ महिनामा गर्भ जाँच सेवा लिई स्वास्थ्य संस्थामै प्रसूति गराउने सुत्केरीलाई ८०० रुपैयाँ, प्रसूति सेवा दिने २५ शैय्यादेखि माथिका अस्पताललाई एक जजार ५०० र २५ शैय्याभन्दा कम भएका स्वास्थ्य संस्था एक हजार रुपैयाँ दिँदै आएको छ भने तराई क्षेत्रका लागि ताकिएको यातायात खर्चवापत एक हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

त्यसैगरी जटिलतायुक्त प्रसूति सेवाको लागि तीन हजार रुपैयाँ, शल्यक्रिया सेवाको खर्चको शोधभर्नावापत सात हजार रुपैयाँ र एन्टी डि दिनुपर्ने अवस्थामा निःशुल्क उपलब्ध गराएबापत प्रतिकेश पाँच हजार रुपैयाँ न्यानो झोला खरिद गर्न खर्च गर्दै आएको छ । खर्च रकममध्ये ३५ लाख ३ हजार रुपैयाँ सामान्य प्रसुति सेवाको लागि, १४ लाख १९ हजार रुपैयाँ जटिलतायुक्त र ५८ लाख ३१ हजार रुपैयाँ शल्यक्रिया सेवामा खर्च भएको छ भने सेवाग्राहीलाई यातायातबापत ३८ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै चार पटक गर्भ जाँच गरेवापत छ लाख ४४ हजार रुपैयाँ र एन्टी डी दिएवापत दुई लाख रुपैयाँ सोधभर्ना गरिएको छ । गत आवमा न्यानो झोला खरिदमा पाँच लाख खर्च गरिएको छ । नेपालगन्ज उपमहानगर क्षेत्रभित्र (भेरी अस्पतालबाहेक) तीन हजार ९१४ जना महिलाले निःशुल्क प्रसुति सेवा लिएका छन् । जसमा सामान्य प्रसुति सेवा लिने दुई हजार ६०९, जटिलतायुक्त सेवा लिने ४७३ र शल्यक्रियाको सेवा लिने ८३२ जना रहेका छन् ।

नेपालगन्ज उपमहानगरपलिकाभित्र सञ्चालित चार वटा बर्थिङ्गमध्ये उदयपुर स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरबाट सबैभन्दा धेरै ४५५ जनाले प्रसुति सेवा लिएका छन् । त्यस्तै स्वास्थ्य चौकी मनिकापुरबाट २१५ जना, स्वास्थ्य चौकी जैसपुरबाट १५६ जना र स्वास्थ्य चौकी पुरैनीबाट ६६ जना गरी जम्मा ८९२ जनाले प्रसुति सेवा लिएका छन् निजीतर्फ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट तीन हजार २२ जनाले निःशुल्क प्रसुति सेवा लिएका छन् ।

त्यस्तै आव २०७६/०७७ मै प्रसुति सेवा प्रदान गरेबापत उदयपुर स्वास्थ्य चौकीलाई १३ लाख ३१ हजार ६०० रुपैयाँ, मनिकापुर स्वास्थ्य चौकीलाई पाँच लाख १९ हजार २०० रुपैयाँ, जयसपुर स्वास्थ्य चौकीलाई चार लाख चार हजार ४०० रुपैयाँ र पुरैनी स्वास्थ्य चौकीलाई एक लाख ६७ हजार ६०० रुपैयाँ सोधभर्ना गरिएको छ भने नेपालगन्ज मेडिकल कलेजलाई एक करोड ३० लाख ६२ हजार २०० रुपैयाँ सोधभर्ना गरि रकम दिइएको छ ।

नेपालगन्जभित्रका बर्थिङ सेन्टरले सेवा दिएका ८९२ जनामध्ये ६२१ जनाले मात्र प्रोटोकल अनुसार ४, ६, ८ र ९ महिनामा गर्भ जाँच गरी उत्प्रेरणाको रकम प्राप्त गरेका छन् भने नेपालगन्ज मेडिकल कलेजले सेवा दिएका तीन हजार २२ मध्ये १८४ ले मात्र उत्प्रेरणावापतको रकम प्राप्त गरेका छन् । गत आवमा बाँकेमा १२ जना आमाले ज्यान गुमाएको उपमहानगरपालिकाको तथ्यांक रहेको छ ।

यसै वर्षदेखि भवानीयापुर स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको छ । साथै अन्य कार्यक्रम तथा उपचारजस्तो नभएका कारण सावधानी र सुरक्षाका उपायहरु अपनाई ३६५ दिन २४ सैं घण्टा उपलब्ध गराउनुपर्ने भएको हुँदा थप चुनौतिपूर्ण रहेको छ । यस बर्ष कोरोनाका कारण आमा सुरक्षा कार्यक्रम अन्तरगत हालसम्म गरिएका उपलब्धीहरुमा केहि असर पर्ने देखिन्छ ।

नेपालले दिगो विकास लक्ष्य २०३० सम्ममा पुरा गर्ने मातृ मृत्यु दरलाई प्रति लाख ७०, नवजात शिशु मृत्युलाई १२ र बाल मृत्युलाई २० मा झार्ने लक्ष्य राखेको छ । विश्वव्यापी रुपमा देशको उच्च मातृ तथा बाल मृत्युलाई न्युन बनाई सहश्राब्दी विकास लक्ष्य पुरा गरी सुरक्षित मातृ तथा बाल स्वास्थ्य सुधारमा योगदानलाई गरेको भन्दै नेपालले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाइसकेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ११:०९