सूचनाको शक्ति - The Power Of Information

        

प्राकृतिक विपत्ति

बगरमा परिणत भयो २५ बिघा धानखेत, नदी कटानले कचनापुरबासी जोखिममा

बाँके । राप्ती नदीले कटान तीव्र पारेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–२ कचनापुरबासी समस्यामा परेका छन् । राप्ती नदीमा आएको बाढीले कचनापुरबासीको करिब २५ बिघा धानखेत कटान गरेको छ । नदीको कटान बढ्दै गए पछि धानखेत बगरमा परिणत हुँदै गएको छ ।

राप्ती नदीले धानखेत भएको करिब डेढ किलोमिटर क्षेत्रमा कटान तीब्र पारेपछि नदी किनारामा रहेको बस्ती नै जोखिममा परेको छ । जोखिममा परेका करिब २५ घर परिवारले गाउँ नजिकैको जंगलमा झुपडी बनाएर बस्न बाध्य छन् । नदीमा बाढी भएका कारण तत्काल नियन्त्रण गर्न सक्ने अवस्था नभएका कारण आफुहरु नदीले काट्दै गरेको खेतबारी टुलुटुल हेरेर बस्न बिवश भएको स्थानीयबासी रामबिहारी थारुले बताए ।

खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत नभएका किसानहरू वर्षभरिको खर्च धान्ने खेतबारी नै बगरमा परिणत भएपछि के कसरी खानेकुरा जुटाउने र परिवार पाल्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । विगत तीन वर्षदेखि राप्ती नदीले कचनापुर क्षेत्रमा कटान गर्दै आएको छ । गत वर्ष जनताको तटबन्ध कार्यालयले निर्माण गरेको करिब ४०० मिटर तटबन्ध भत्काएर नदीले कटान तीब्र पारेको हो ।

नदीको धार परिवर्तन हुदै गएका कारण पछिल्ला वर्षहरुमा नदी कटान बढ्दै गएको हो । नदीले कटान गरेको बेला हरेक वर्षजसो राजनीतिक दल नेता, जनप्रतिनिधि र कर्मचारीहरु आउने गरे पनि नदी नियन्त्रणको लागि दीर्घकालिन योजना निर्माण गर्नेतर्फ खासै पहल हुन सकेको छैन । नदी नियन्त्रणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिका र वडा कार्यालयले नदी नियन्त्रणको काम गर्न नसकेको वडा नं २ का वडाध्यक्ष मदन वलीले बताए ।

राप्ती नदीले कचनापुर लगायत नदी किनाराका धेरै बस्तीहरुमा कटान गर्दै आएकाले संघीय सरकारले नदी नियन्त्रणका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् । यसैबीच जनताको तटबन्ध कार्यालयका प्राविधिकहरुको टोलीले नदी कटान भएको क्षेत्रको स्थलगत भ्रमण गरेर तत्कालका लागि बोरामा माटो भरेर र जालीमा ढुंगा भरेर कटान भएको क्षेत्रमा अस्थायी तटबन्ध निर्माणको पहल गर्ने आश्वासन दिएको वडाध्यक्ष वलीले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ०७:०८