सूचनाको शक्ति - The Power Of Information

        

चट्याङले भेडा मर्दा २६ लाखको क्षति

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् ।

भेडा मर्दा २६ लाख ४ हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । उनका अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन् ।

पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामी नेतृत्वको टोलीले मंगलवार ढाँणखर्क पुगेर विवरण संकलन गरेको थियो । प्रशासकीय अधिकृत बुढ्थापाले भने, ‘थप मूल्यांकन पनि हुँदैछ ।’

भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई पठाइने जानकारी दिए । गतवर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका–६ सूँडी गाउँका २५० भेडा मरेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १६:०४