सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपाली सेनाका ५१ सहित बाँकेमा एकैदिन ७३ जना कोरोना संक्रमित थपिए

बाँके । बाँकेमा बुधवार ७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २२ र कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा ५१ जना गरी ७३ जना भाइरस संक्रमित थपिएका हुन् । बुधवार थपिएका अधिकांश संक्रमित नेपाली सेनाका छन् ।

बुधवार थपिएका संक्रमितमा पाँच महिला र ६८ पुरुष छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा गरिएको परीक्षणमा भेरी अस्पतालका एकजना डाक्टर, नेपाल टेलिकमका कर्मचारीदेखि स्वास्थ्यकर्मीसमेत परेका छन् । नेपाल टेलिकमका ८ जना, पुरैना स्वास्थ्य चौकीका एकजना, माछापुच्छ्र्रे्र बैंकका दुईजनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज वडा नं. १० का दुई जना, वडा नं. ७, ८, ११ र १३ का एकएक जनामा भाइरस देखिएको छ । त्यस्तै नरैनापुर गाउँपालिका ५ का एकजना, कोहलपुर नगरपालिका–११ का एक, खजुरा गाउँपालिका–३ का एकजनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । भेरीमै गरिएको परीक्षणमा बर्दिया बासगढीका एक जनामा पनि भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा ३६१ नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।

२२ जना बाँकेका संक्रमित थपिँदा एकजना बर्दियाका परेका हुन् । यस्तै कोहलपुरको बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ठूलो संख्यामा नेपाली सेनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोहलपुर नगरपालिका एक कौशिल्या नगरस्थित नेपाली सेनाको पश्चिमी पृतना शिक्षालय ब्यारेकबाट सयजनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अधिकांश संक्रमित प्रशिक्षार्थी भएको खुलेको छ । यसअघि एकैदिन त्यस ब्यारेकका १७ जनामा भाइरस संक्रमण देखिएको थियो । बुधवार थपिएको यो संख्या बाँकेमा अहिलेसम्मकै धेरै हो । यसअघि नरैनापुर गाउँपालिकामा एकैदिन ५९ जना भाइरस संक्रमित फेला परेका थिए । बुधवार ७३ जना थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ९१७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६६० जना डिस्चार्ज भएका छन् । बाँकेमा कोरोना भाइरस संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:३७