सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा एकैदिन ६७ जना कोरोना संक्रमित थपिए, हालसम्म पाँच जनाको मृत्यु

बाँके । बाँकेमा एकैदिन ६७ जनमा कोरोना संक्रमित थपिएका छन् । बाँकेमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा भएको पिसिआर परीक्षणबाट आज (बुधबार) एकैदिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार आज भेटिएका संक्रमित मध्ये सबैभन्दा धेरै कोहलपुरका ५१, नेपालगन्ज उपमहानगरपालिकाका १५ र बैजनाथ गाउँपालिकामा १ गरि ६७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । साथै बर्दिया बाँसगढीका ५३ बर्षिय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । मंगलबार राति नेपालगन्ज–१ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगन्जकै एक–एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

यसैबीच, आज बुधबार जिल्लाबाट ६ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । साउन २८ गते कोरोना पुष्टि भएका उनीहरु होटल र खजुरास्थित कोरोना विशेष अस्पताल रहेका थिए ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:०५