कोरोनाले होइन मान्छेहरु विश्वको स्वास्थ्य ब्यबस्थाको दिवालियापनको कारण मरेका थिए, छन् र यस्तै रहे मर्ने पनि छन् । रोगझैं मान्छे भोकले पनि मरेका छन् । अपबादबाहेक सरकारहरुको हैसियत छताछुल्ल भएको छ । ब्यापारीकरण भएको चिकित्सा उद्योगको लागि स्वास्थ्य प्रमुख उद्देश्य रहेन । यी सबै चिजको बाबजुद अहिले कोरोनाको बारेमा मजाक उडाउनु पनि त्यति सान्दर्भिक देखिँदैन ।
पूँजीवादलाई प्रहार गर्न एक हजार कारणको सूची र आवश्यक क्रान्तिको जरुरत स्वतः पारदर्शी छ । अचम्मको तरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)विरुद्ध साम्राज्यवादी मुलुकहरु, पुरातन पन्थी धर्मभिरुहरु, बाबाहरुको सुडो तर्कको प्रयोग फाइदाजनक छैन । चाइना विरोधी खेमाका विचार निर्माताहरु, सीतयुद्व ताकाको दुश्मनी पालेर रुसको खोपबारे भ्रम छर्नेहरु सबैका तर्क झन्डै झन्डै उस्तै छन् । भ्रम फैलाउन जोड नदिनु राम्रो ।
बरु देशले लिएको रणनीति मिलेन भने त्यसको खुलेर आलोचना गर्ने र संघर्ष गर्ने कुरा जायज नै हुन्छ, तर मान्छे कोरोनाले मर्दैनन् भन्नेजस्तो हास्यास्पद तर्क गर्नुहुँदैन । मान्छे त एचआइभीले पनि मर्दैनन् । कण्डमले संक्रमण घटाउँदैन त ? शुरुमा डब्लुएचओको सिफारिसमा मास्क थिएन, संक्रमित र सम्पर्कमा रहने सेवा प्रदायकलाई मात्र भन्ने थियो, प्रमाणमा आधारित सिफारिस गर्ने हो जुन कुरा सबै देशको लागि वाध्यकारी हुँदैन । अमेरिका, पोप, पादरी, बाबाहरु, मुल्ला र भाइरोलोजीको साक्षरता नभएका मान्छेको उही तर्क छ ।
अहिले खोप लाउनुहुँदैन भन्नेसम्म भ्रम बाहिर ल्याउन थालेका छन् । खोप सित्तै पाउनुपर्छ, सर्वसुलभ हुनुपर्छ, जिटुजी गरिनुपर्छ । माक्स निशुल्क बाँडिनुपर्छ, नागरिकको भोक र अन्य स्वास्थ्य सेवा निशुल्क गरिनुपर्छ भनौं । तर भाइरस नै छैन, होइन, यसले मार्दैन चाँही नभनौं । माक्सको प्रयोग ब्यापक गरौं, निशुल्क मास्क वितरण गरौं । मास्क लाउँदैमा सुरक्षित हुने निश्चित छैन, तर अर्को कुनै उपाय पनि छैन । उपाय भनेको खोप हो, जुन प्रमाणित भएर जनस्तरमा पुग्न कम्तीमा अरु ६ महिनाभन्दा बढी नै लाग्ला । अन्तमा, हामी कसैलाई केही थाहा छैन, विश्वका कुनै विज्ञसँग सही जवाफ छैन ।
https://www.facebook.com/nara.b.karki/posts/10220629334396426
(साभार : लेखकको फेसबुकबाट)
नरबहादुर कार्की ।