सूचनाको शक्ति - The Power Of Information

        

अब मूलधारको राजनीति गर्ने विवेकशील नेपाली दलको घोषणा

काठमाडौँ ।  वैकल्पिक राजनीति गरेको बताउने विवेकशील नेपाली दलले आज नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गर्दै अब मूलधारको राजनीति शुरु गर्ने घोषणा गरेको छ।

अनलाइनबाट नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि अध्यक्ष मिलन पाण्डेले अब मूलधारको राजनीतिमा सहभागी हुने घोषणा गरेको नीति सचिव संजीव भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष पाण्डेले भनेका छन्, “विवेकशील नेपाली दल २१ औँ शताब्दीका नेपालीलाई प्रतिनिधित्व गरेर आम नागरिकको सपना साकार गर्न परिपक्व भएर आएको छ। आठ वर्षको वैकल्पिक अनुभवसँगै अब वैकल्पिक राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै छ।”

विज्ञप्तिमा जनाइए अनुसार पछिल्लोपटक रोल्पाको लिवाङमा सम्पन्न नीति सम्मेलन तथा जनपपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट प्रस्तावित नीतिपत्रहरुबाट दलको संघीय समितिले सांगठनिक राजनीतिक दस्तावेज तयार पारेको हो। दस्तावेज सम्पूर्ण सदस्यहरुको सहभागी भएर तयार पारेको विवेकशील नेपाली दलले दाबी गरेको छ।

दस्तावेजमा “सबै नेपाली अटाउने ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ विवेकशील नेपाली दलको दर्शन हुने” उल्लेख छ। साथै सहभागितामुलक लोकतन्त्र, गतिशील मध्य-मार्ग, सामाजिक न्याय र दिगो-आत्मनिर्भर अर्थतन्त्रको चार खम्बे सिद्धान्त मान्ने पनि उल्लेख छ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ११:४६