सूचनाको शक्ति - The Power Of Information

        

गौरा पर्व

गौरा लगायतका पर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन प्रधानमन्त्रीको आग्रह

जीवनमा परस्पर एकता र विश्वास विस्तार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको बताउदै प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताएका छन् ।

उनले भनेका छन्, ‘साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।’

प्रधानमन्त्री ओलीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त रहेको भन्दै विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको सन्देशमा उल्लेख गरेका छन् । उनले यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा म सबैमा आह्वान गरेका छन् ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सजग हुँदै विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवं सरकारको निर्देशन अनुसार सामाजिक ब्यवहार गरेर सर्वोपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ११:२०