सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्यु हुनेको संख्या ५

आज ६ जना डिस्चार्ज हुँदै

बाँके।  बाँकेमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक-एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।

बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। मेडिकल कलेजमा उपचार रहेका उनका अवस्था बिग्रिँदै गएपछि नेपालगञ्जबाट भेन्टिलेटरसहित कोहलपुर मेडिकल कलेजमा सारेर उपचार भइरहँदा मंगलबार राति एक बजेर ३० मिनेटमा मृत्यु भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए।

यसैबीच, आज बुधबार जिल्लाबाट ६ जना डिस्चार्ज हुँदैछन् । साउन २८ गते कोरोना पुष्टि भएका उनीहरु होटल र खजुरास्थित कोरोना विशेष अस्पताल रहेका थिए।

बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन् । त्यसमा ५ जनाको मृत्यु भएको छ। ६ सय ६० जना डिस्चार्ज भएका छन् । एक सय ७९ जना उपचारमा रहेका छन्।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार ०७:३७