सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका नौं जनासहित १५ जनामा कोरोना पुष्टि

बाँके । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आज बुधबार गरिएको पीसीआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४०० नमुना परीक्षण गरिएकोमा बाँकेका ९ जना र बर्दियाका ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मंगलवार थप भएका संक्रमितमा डाक्टर, प्रहरीदेखि बैंकका कर्मचारी पनि छन् । भेरी अस्पतालका फिजिसियन, वडा प्रहरी कार्यालयका प्रहरी कर्मचारी र एभरेष्ट बैंक नेपालगन्जक कर्मचारीमा भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जका डाक्टरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एभरेष्ट बैंकका दुईजना कर्मचारी र एकजना वडा प्रहरी कार्यालय प्रहरी कर्मचारीमा भाइरस पुष्टि भएको छ । नेपालगन्ज वडा नं. ४ का तीन जना र नेपालगन्ज वडा नं. १ र ९ एकएक जनामा भाइरस पुष्टि भएको छ भने बर्दियाको ठाकुरबाबा नगरपालिकाका चारजना, बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएपछि डा.पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिनँ । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । स्वास्थ्य लाभपछि प्लाज्मा डोनेट गर्नेछु ।’

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १६:१६