रुपन्देही । दुर्घटनामा घाइते एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उपचार अभावमा मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५० वर्षीय पुरुषको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
उनको सोमबार राति ११ बजे मृत्यु भएको हो । मजदूरी गर्ने ती पुरुष अघिल्लो मंगलबार काम गर्ने क्रममा घरको छतबाट खस्दा सख्त घाइते भएका थिए । तत्कालै उनलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पुर्याइएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको अपरेसन गर्नुपर्ने भयो ।
तर अपरेसन गर्नुअघि बिहीबार उनको पीसीआर जाँच गर्न स्वाव संकलन गरियो र नेशनल प्याथ ल्याव बुटवलमा पठाइयो । शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालमा अपरेसन हुन सकेन । उनको कोरोना पुष्टि भएपछि टाउकाको अपरेसन गर्न चिकित्सकहरु हच्किएका परिवारको आरोप छ ।
त्यहाँबाट उनलाई भीम अस्पतालबाट रेफर गरियो । भीममा जनशक्ति अभावमा टाउकाको अपरेसन नहुने भए पनि कोरोना देखिएकाले पारिवारिक जोडबलमा भर्ना गरियो । तर, उपचार नपाउँदा उनको मृत्यु भयो । भीम अस्पतालका कोरोना फोकल पर्सन सुमित प्रजापतिले कोरोना भन्दा पनि ती पुरुषको चोटका कारण ब्रेन ह्यारेज भएकाले मुत्यु भएको दाबी गरे ।
‘मेडिकल कलेजले यहाँ रेफर गरेको थियो । हामीले जनशक्ति छैन, यहाँ उपचार सम्भव छैन भनेका थियौं,’ उनले भने, ‘तर आफन्तले मानेनन् । कोरोना देखिएकाले हामीले बाध्य भएर भर्ना लियौं, तर उहाँलाई बचाउन सकिएन ।’ बिरामीको अवस्था भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो । अस्पतालमा जनशक्ति अभावले आइसीयू र भेन्टिरेटर सञ्चालनमा आउन सकेको छैन ।
बुटवलको कोरोना बिशेष अस्पतालमा पनि बेड खाली नभएकाले बिरामीलाई भैरहवाकै भीम अस्पतालको सामान्य वार्डमा राखियो । उपचार नपाएपछि गए राती नै उनको मृत्यु भएको हो । उनलाई सोमबार साँझ आफन्तले मेडिकल कलेजबाट भीम अस्पताल पुर्याएका थिए । अस्पतालमा भर्ना गरेको तीन घण्टामै उनको मृत्यु भयो ।
कोरोना देखिएकै कारण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले उपचार नगरेर रेफर गर्दा ज्यान गएको भन्दै आफन्तले दुख पोखेका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत शुशील गुरुङले भने विरामीको टाउकोमा रगत जमेको र औषधिले नै ठीक हुने भएपछि अपरेसन नगरिएको बताए ।
‘बिरामी इमरजेन्सीमा आएपछि टाउकाको सिटी स्क्यान सबै गरिएको थियो । जोखिमलाई ध्यान दिएर पीसीआर जाँच गरियो । औषधि खाँदै जाँदा विस्तारै उहाँको स्वास्थ्यमा सुधार आयो र रिपोर्ट आएको ४ दिनपछि बल्ल भीममा रेफर गरेका हौं’, उनले भने, ‘कोरोना देखिएकै कारण उपचार नपाएको भन्ने होइन ।’
गुरुङले मेडिकल कलेजमा कोरोना संक्रमतिको उपचार नहुने भएकाले पनि आफूहरुले रेफर गरेको बताए । ‘परिवारले भनेजस्तो कोरोनाका कारण अपरेसन भएन भन्ने चाहिँ होइन । उहाँलाई औषधिले नै ठीक हुन्छ भनेर केही दिन उपचार गरेर मात्रै अस्पतालबाट सिफ्ट गरिएको हो,’ उनले भने ।
सत्यपाटी ।