सूचनाको शक्ति - The Power Of Information

        

चट्याङले ५०० बढी भेडा मरे

जुम्ला । जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँणखर्क सामुदायिक वनमा चट्याङले ५०० भेडा मरेका भेटेरीनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा भेडा मरेको जानकारी भएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार गाउँपालिका पशु तथा भेटरीनरी शाखाका प्राविधिक हरि कामीसहितको टोली घटनास्थलमा गएको छ । त्यहाँबाट आएको फोनको आधारमा ५०० बढी भेडा मरेको जानकारी भएपनि विस्तृत विवरण आउन बाँकी रहेको जानकारी गरे । विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने भेटेरीनरी कार्यालयले जनाएको छ ।

बेलुकीसम्म विस्तृत विवरण आउने स्थानीय तहले जानकारी दिएको छ । धेरै भेडा एकैपटक मरेको घटना किसानका लागि निकै ठूलो क्षति भएकाले हामी सरोकारवाला निकायहरूले क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिए । यसैगरी गतवर्ष तिला गाउँपालिका–६ को सुडिका किसानका समेत २५० भेडा चट्याङले मरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १३:५५